काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले सुशासन र आर्थिक विकासमा केन्द्रित भएर अघि बढेको बताएका छन् ।
इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर्श अफ कमर्शद्वारा आज यहाँ आयोजित नेपाल–भारत व्यापार सम्मेलनको उद्घाटन गर्दै उहाँले अब ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्य पूरा गर्न ढिलाइ गर्दैनौ भनेका छन् ।
लामो संक्रमणपछि देश राजनैतिक स्थायित्व प्राप्त गरेको हुँदा वैदेशिक लगानीका लागि अहिले उपयुक्त वातावरण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने “समृद्धिका लागि पूर्वाधार, सूचना र प्रविधि, वस्तु र सेवाका क्षेत्र अहिले हाम्रा प्राथमिकताका विषय हुन् ।”
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नेपालको विकासका लागि भारतीय व्यवसायीबाट भएको लगानीको प्रतिबद्धता घोषणामा मात्र सिमित नहोस् भन्नुभयो । उहाँले भन्नुभयो, “मुलुकको आर्थिक र समृद्धिका लागि वैदेशिक लगानी अपरिहार्य छ, सरकारले लगानीका लागि उपयुक्त वातावरण बनारहेको छ ।”
नेपाल उद्योग परिघका अध्यक्ष हरिभक्त शर्माले भारतीय उद्योग व्यवसायीलाई नेपालमा लगानीका लागि निकै सहज वातावरण रहेको जानकारी दिए ।
सो अवसरमा इन्टरनेशनल फेडरेशन अफ यादव च्यामर्श अफ कमर्शका अध्यक्ष सुदेश यादवले रोजगारी र व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले स्थापना भएकाले सरकारको आर्थिक समृद्धि नारा कार्यान्वयनका लागि हरसम्भव सहयोग पु¥याउने बचन दिए ।
उद्योगबीच समन्वय गर्ने, बाणिज्य र व्यापार सुधारका लागि वातावरण निर्माण गर्ने लक्ष्यका साथ गठन भएको इन्टरनेशनल फेडरेशन अफ यादव च्यामर्श अफ कमर्श नेपालसहित विश्वका १३ मुलुक विस्तार भइसकेको छ ।
नेपाल र भारतबीच खुल्ला सीमाना र जनस्तरको सम्वन्ध आफैमा अनुपम रहेको जनाउँदै सो अवसरमा विभिन्न भातीय उद्योग व्यवसायीले नेपालको आर्थिक विकासका लागि कृषि प्रशोधन, स्वास्थ्य, शिक्षा, ऊर्जा विकास र सिमेन्टलगायत क्षेत्रमा लगानी गर्ने घोषणा गर्नुभएको थियो ।








