काठमाण्डौ, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध लड्न संगठित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सभापति देउवाले सरकारले प्रहरी, सेना, न्यायालयसहित कर्मचारी तन्त्रलाई पार्टीकरण गर्ने षडयन्त्र गरिरहेको आरोप लगाउँदै त्यसविरुद्ध लड्न पार्टीका नेता, कार्यकर्तालाई संगठित हुन निर्देशन दिएका हुन् । नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले कर्मचारीतन्त्रलाई पार्टीकरण गर्ने सरकारको योजना सफल हुन नदिन सचेत रहनुपर्ने आवश्यक्ता पनि औंल्याए । सभापति देउवाले कर्मचारीतन्त्रलाई हस्तक्षेपमुक्त बनाउने पार्टीको नीति रहेकोे पनि दावी गरे ।
सभापति देउवाले आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने दावी पनि गरेका छन् । प्रमुख प्रतिपक्षको रुपमा नेपाली काँग्रेसको भूमिका कमजोर देखिएको भन्दै आलोचना भईरहेका बेला सभापति देउवाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । अवकाश प्राप्त पार्टी निकट कर्मचारीहरुलाई पार्टीले उचित स्थान दिने आश्वासन पनि देउवाले दिएका छन् ।








