काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक शिखर सम्मेलन सफतापूर्वक सम्पन्न भएको दावी गरेका छन् ।
सोमबार सिंहदरबारमा आयोजित बिमस्टेक शिखर सम्मेलनको समिक्षा बैठकमा बोल्दै उनले अन्तराष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढाउन सम्मेलनले योगदान दिएको बताए । त्यस अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनबाट पर्वतीय अर्थतन्त्र, वातावरण, कनेक्टिभिटी जस्ता नेपालको राष्ट्रिय प्राथमिकतालाई स्थापित गराउन पनि सम्मेलन सफल भएको दावी गरे । बिमस्टेक मूल तयारी समितिका अध्यक्ष समेत रहेका उनले सम्मेलनले अन्तराष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।
समिक्षा बैठकले बिमस्टेक शिखर सम्मेलनका क्रममा भएको सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँगको द्धिपक्षीय भेटवार्ता पनि फलदायी रहेको निष्कर्ष पनि निकालेको छ । त्यस अवसरमा प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका मन्त्रालय, सुरक्षा निकाय, संचारकर्मीलगायतलाई धन्यवाद पनि व्यक्त गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।
गत भदौ १४ र १५ गते काठमाडौंमा आयोजित बिमस्टेक चौंथो शिखर सम्मेलनले १८ बुदे काठमाडौं घोषणा पत्र जारी गर्दै भव्यताका साथ सम्पन्न भएको थियो ।








