काठमाण्डौ, प्रतिनिधीसभा सांसद हृदयेश त्रिपाठीले कर विरुद्धको आन्दोलन सुरु भइसकेको भन्दै तत्काल कर वृद्धिको समस्या सम्बोधन नभए संघीयता खतरामा पर्ने बताएका छन् ।
प्रतिनिधीसभाको सोमबारको बैठकमा उनले स्थानीय सरकारले मनोमानि ढंगले कर लगाउने काम गरिरहेको भन्दै त्यस तर्फ तत्काल गम्भीर हुन सरकारको ध्यानाकर्षण समेत गराए । स्याङजामा एक जना ज्योतिषलाई पनि २ हजार कर लगाईएको भन्दै उनले कुखुरा, परेवा जे देख्यो त्यसमा कर लगाईदिने गरेको आरोप लगाए । मनोमानी ढंगले कर थोपर्ने काम भईरहेको भन्दै उनले कर वृद्धिलाई आम जनताले निर्वाचनले दिएको उपहार भन्ने बुझ्न थालिसकेको बताए ।
त्यस्तै कांग्रेसकी सांसद डिला संग्रौलाले जन्मदर्ता र मृत्युदर्ताको सिफारिस गर्दा एक हजार लिनु न्यायोचित नभएको बताइन् । उनले सरकारले उखुको उचित मुल्य नतोकिदा किसानले भुक्तानी पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराईन् । यसअघि बैठकको शुन्य समयमा बोल्दै सांसद गगन थापाले काठमाडौंमा हुन लागेको बिम्सटेक सम्मेलनमा सहभागी हुन आउने ६ राष्ट्रका पाहुनाहरुलाई अलग अलग होटलमा राख्नु सरकारलाई सुझाव दिए ।
थापाले बिम्सटेक सम्मेलनमा पाहुनाहरु आउन भएपछि सरकारले खाल्डाखुल्डी पुर्ने काम गरेकाले पाहुनाहरुलाई विभिन्न होटलमा राखिए सबै क्षेत्रको खाल्डाखुल्डी पुरिने तर्क गरे ।








