काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
शनिबार बालुवाटारमा नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले बिभिन्न क्षेत्रमा देखिएको समस्या समाधान गर्दे आर्थिक समृद्धिको बाटोमा सरकार अघि बढ्ने बताए ।
उनले अर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्र सँगै मिलेर अगाडि बढ्नु पर्ने धारणा पनि राखेका छन् । सरकारले लगानी मैत्री वातावरण बनाउने भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले प्रविधिको आधुनिकीकरण र कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखेर उद्योगधन्दा खोल्नु पर्नेमा जोड दिए । त्यस्तै उनले कर क्षेत्रमा देखिएको अन्यौलतालाई अन्त्य गर्दै सरकार नयाँ नीतिकासाथ अगाडि बढ्ने प्रष्ट पारेका छन् ।
छलफलपछि नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले करका बिषयमा देखिएका विवादलाई हल गर्दै सुरक्षित लगानीको बातावरण निर्माण गर्न आग्रह गरिएको बताइन् ।
छलफलमा सहभागी व्यवसायीहरुले करबृद्धिका कारण व्यवसायमा समस्या देखिएको भन्दै लगानी मैत्री बातावरण बनाउन आग्रह गरेका थिए ।








