काठमाण्डौ, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्ने सहमतिका आधारमा आफू सरकारमा सहभागि भएको बताउँदै अब छिट्टै संविधान संशोधन हुने बिश्वास व्यक्त गरेका छन् ।
संघीय समाजवादी फोरम नेपाल भक्तपुरले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले अब छिट्टै संविधान संशोधन हुने बताए । संविधान संशोधनपछि राष्ट्रिय समस्या समाधान हुने र विगतमा भएको विभिन्न आन्दोलनको उपलब्धीलाई संस्थागत गर्ने कार्यलाई अगाडि बढाइने बताए ।
संघीयता र गणतन्त्रलाई बलियो बनाउँन संविधान संशोधनको बिकल्प नभएको बताउँदै संघीय गणतन्त्रलाई सुंरक्षित गरि सबैको समान हक, अधिकार पाउँने अवस्था सृजना गर्नुपर्ने यादवको भनाई थियो ।
संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवले बाहुन क्षत्रीको वरिपरि मात्रै सत्ता र शासन घुमिरहेकाले देशको विकास प्रभावकारी ढंगले हुन नसकेको आरोपसमेत लगाए । स्वास्थ्य क्षेत्रमा महिलाको हक अधिकार स्थापित गर्न प्रतिनिधीसभा बैठकमा मन्त्रालयको तर्फबाट विधेयक दर्ता गर्ने बताउँदै विधेयक पारित भएसंगै नेपालको महिला अत्यन्तै अधिकार सम्पन्न हुने बताए ।








