काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय अभ्यासअनुसार निष्पक्ष भएर संसद सञ्चालन गर्न सभामुखको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको काँग्रेस संसदीय दलको बैठकले बिहीबार प्रतिनिधीसभा बैठकमा आफ्ना सांसदहरुलाई प्रश्न सोध्न रोक लगाईएको प्रति आपत्ती जनाउदै यस बिषयमा सभामुखसंग छलफल गर्ने निर्णय गरेको हो ।
सभामुख सबैको साझा बन्नुपर्ने तथा सत्तापक्ष र प्रतिपक्षीलाई मिलाएर लैजान सभामुख कृष्ण वहादुर महरासंग टेलिफोनमा कुरा भएको र सभामुखसंग भेटेरै यस बिषयमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । बिहीबार काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि पटकपटक समय माग गर्दा पनि नपाएको भन्दै प्रतिनिधिसभा बैठक बहिष्कार गरेको थियो ।
बैठक बहिष्कार गरेपछि पनि सभामुखले बैठकलाई निरन्तरता दिएको सम्बन्धमा पार्टीले थप गम्भीर रूपमा लिएको काग्रेसले जनाएको छ । सदनमा उठाउने जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण लगाएतका बिषयमा छलफल भएको उनले बताए ।
संसदीय दलको बैठकमा संविधानका मौलिक हक कार्यान्वयनका लागि बनाउनुपर्ने ऐनका सम्बन्धमा पनि छलफल भएको उनले जानकारी दिए । सरकारले छिटोभन्दा छिटो मौलिक हकसम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्नुपर्ने र जनतालाई मौलिक अधिकार दिलाउन उक्त विधेयक संसदबाट शीघ्र पारित गर्नुपर्छ भन्नेमा काँग्रेसको ध्यान गएको उनले बताए ।
काग्रेसको संसदीय दलको बैठक शनिबार दिउसो पुन बस्ने खाँणले जानकारी दिए ।








