काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वलाई आर्थिक नियम कानुनभित्र बस्न चेतावनी दिएका छन् ।
मंगलबार सिंहदरबारमा महालेखा परीक्षक कार्यालयको गत आर्थिक बर्ष २०७४÷०७५ लेखा परीक्षण सम्बन्धी छलफलमा प्रधानमन्त्री ओलीले राजनीतिले देशलाई बाटो देखाउने भएकोले राजनीतिक व्यक्तित्वहरुले आर्थिक नियम कानुनभित्र बस्नुपर्नेमा जोड दिएका हुन् । कार्र्यालयहरुमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको ओलीको भनाई थियो ।
उनले जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार भएको भन्दै त्यसमा संलग्नलाई कानुनी कारबाही गरिने स्पष्ट परे । बढ्दो बेरुजुले अन्तराष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने प्रधानमन्त्री ओलीको तर्क थियो । छलफलमा महालेखा परीक्षक टंकमणी शर्माले आर्थिक बर्ष २०७४÷०७५ मा ४८ अर्ब रुपैंया बेरुजु देखिएको जानकारी दिए । उनले आर्थिक बर्ष २०७४÷०७५ को लेखापरिक्षण सुरु भईसकेको भन्दै माघको अन्त्यसम्म अन्तिम रिपोर्ट आउने बताए । त्यस्तै छलफलमा बेरुजु बढ्नुको कारण र निराकरणको उपायका बारेमा पनि प्रधानमन्त्री ओलीले चासो व्यक्त गरेको शर्माले बताए ।
कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल, बिभिन्न मन्त्रालयका सचिबहरु लगाएत महालेखा परीक्षक कार्यालयका अधिकारीहरुको समेत सहभागीता रहेको थियो ।








