काठमाडौं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल भ्रमणमा रहेका चिनियाँ उप–विदेश मन्त्री वाङ वाजुनबीच भेटवार्ता भएको छ ।
सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा नेकपाका अध्यक्ष र चिनियाँ उप–विदेश मन्त्री वाङ वाजुनबीच भेटवार्ता भएको हो । भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीहरुबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको उल्लेख गरे । चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष प्रचण्डले बताए ।
अध्यक्ष प्रचण्डले उपमन्त्री वाङ समक्ष नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताए । उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको स्पष्ट पारे । अध्यक्ष प्रचण्डले कनेक्टिभिटीको कुरा सबैभन्दा पहिले आफूले उठाएको र अहिले त्यो कार्यान्वयनको चरणमा रहेकाले खुसी लागेको बताए ।
सो अवसरमा उपमन्त्री वाङले राष्ट्रपति सी जिन फिङको अध्यक्ष प्रचण्डप्रति न्यानो अभिवादन रहेको सन्देश सुनाएका थिए । उनले ठूला कम्युनिष्ट पार्टीहरुको एकताबाट नेपालमा राजनीतिक स्थायीत्व कायम भएकोमा बधाइ दिए । उपमन्त्री वाङले नेपाल र नेपाली जनताको प्रगति र समृद्धिका लागि चीन सदैव तयार रहेको बताए । बेल्ट एण्ड रोड इनिसिएटिभका लागि चौतर्फी वातावरण तयार भएको उनले जानकारी गराएका थिए ।
वाङले दुई कम्युनिस्ट पार्टीबीच एकता भएको र स्थायी सरकार बनेकोमा खुसी व्यक्त गरेका थिए । उनले नेपालले अब आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने विश्वाससमेत व्यक्त गरे । नेपाल र चीन सम्बन्ध थप विस्तारका लागि अहिले उपयुक्त समय भएको बताउँदै वाङले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई चीन भ्रमणको निम्तो समेत दिए । प्रचण्डले उपयुक्त समय मिलाएर चीन भ्रमण गर्ने बताए ।
उनले आफूहरु चिनियाँ राष्ट्रपति सी जिन पिङलाई नेपालमा स्वागत गर्न आतुर रहेको जानकारी पनि गराएका थिए । चिनियाँ मन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दुई देशबीच महत्वपूर्ण सहमति भएको बताउँदै त्यसलाई कार्यान्वयन गरिने बताए ।








