काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा गोविन्द केसीले उठाएका माग सरकारले कार्यान्वयन गर्ने बताएका छन् ।
पोखरा लेखनाथ महानगरपालिका–५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजको रजतमहोत्सव समारोहको आज उद्घाटन गर्दै मनित्रले केसी र सरकारबीच भएको सहमतिलाई सरकारले कार्यान्वयनमा लैजाने बताएका हुन् । विगतमा धेरैपटक सरकारको तर्फबाट डा केसीसँग गरिएका सहमति कागजमा मात्र सीमित रहेको बताउँदै उहाँले अब भने सम्झौतालाई व्यवहारमै लागू गरिने विश्वास व्यक्त गरे ।
पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्धा्रित समयमा नै सम्पन्न हुने बताउँदै मन्त्री अधिकारीले विमानस्थल निर्माणसँगै यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए । वर्तमान सरकारलाई जनताले महत्वपूर्ण अवसर प्रदान गरेको बताउँदै उहाँले यस अवसरलाई आत्मसात गर्दै अघि बढ्न नसकेमा इतिहासमा अर्को अवसर प्राप्त नहुने हुँदा सरकार त्यही रुपमा राष्ट्रको समृद्धि र विकासका लागि क्रियाशील बनेको बताउनुभयो ।
उक्त अवसरमा मन्त्री अधिकारीले समाजद्वारा निर्मित सूर्यचन्द्र वाटिकाको उद्घाटन गरे । कार्यक्रममा समाजद्धारा सञ्चालित शहीद स्मृति पुस्तकालय, अक्षयकोष स्थापना, वाटिका निर्माणलगायतमा सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मान गरिएको थियो ।








