काठमाणडै, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अनशनरत डाक्टर गोविन्द केसीको अनशन र आन्दोलनलाई केही दल र तत्वहरुले राजनीतिक हतियार बनाएको आरोप लगाएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले काठमाडौमा आयोजना गरेको साक्षात्कारमा मन्त्री ज्ञवालीले डाक्टर गोविन्द केसीको अनशनलाई राजनीतिकरण गर्न खोजिएको बताएका हुन् । अनशनरत डा. केसीलाई जुम्लाबाट सरकारले हस्तक्षेप गरेको भन्ने आरोपको खण्डन गर्दै ज्ञवालीले चिकित्सा क्षेत्रको विकृति अन्त्यका लागि सरकार प्रतिवद्ध रहेको दाबी गरे । चिकित्सा शिक्षा क्षेत्रको विकृति पहिलेदेखि नै खोलिएका मेडिकल कलेजले भित्र्याएको बताउँदै उनले अहिले खुल्न लागेका मेडिकल कलेजलाई अनावश्यक आरोप लगाइएको बताए ।
मन्त्री ज्ञवालीले चिकित्सा शिक्षामा विकृति रहेको स्विकार्दै अहिले यसबारेको बहसलाई मोड्न खोजिएको तर्क गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनको भ्रमण सम्पन्न गरेको उल्लेख गर्दै अब छिट्टै अन्य मुलुकको पनि भ्रमण गर्ने तयारी गरिरहेको मन्त्री ज्ञवालीले बताए । उनले समग्रमा नेपालको आर्थिक समृद्धि र विकासका लागि एउटा अनुकुल वातावरण बनाउने आफूहरुको विदेश नीतिको मुख्य केन्द्र विन्दु हुने जिकिर गरे । कृषिमा साझेदारी, रेलवेमा एमओयु हुने बताउँदै भारतसँग भएका विभिन्न सहमति तथा सम्झौताहरु आगामी सेप्टेम्बरसम्म कार्यान्वयन हुने उनले बताए ।
त्यस्तै उनले मित्रराष्ट्र चीनसँग हिमालय वारपार बहुआयामिक यातायात सञ्जाल साझेदारीको कुराहरु अघि बढाएको जानकारी दिए । यही अगष्ट ३० र ३१ मा बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा आयोजना हुन लागेको जनाउँदै मन्त्री ज्ञवालीले विमस्टेकमार्फत कनेक्टिभिटीलाई उच्च प्राथमिकता दिने बताए । वर्तमान सरकारको एकमात्रै उद्देश्य आर्थिक समृद्धि भएकोले आगामी सन् २०२२ सम्म नेपालाई विकासशील राष्ट्र बनाउने र सन् २०३० सम्म मध्य आय भएको मुलुकको रुपमा चिनाउने भएको भन्दै यसमा सफलता प्राप्त हुने उनले बताए ।








