काठमाण्डौ, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अनशनरत डा. गोविन्द केसीलाई अस्पतालमा दमन गरेर काठमाण्डौ ल्याउन जरुरी नभए पनि सरकारले जबरजस्ती ल्याएको भन्दै आलोचना गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कोइरालाले डा. केसीले रोखका माग पूरा हुने गरी शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा अध्यायदेश पास गरेको भए पनि अहिलेको सरकार त्यसको विरुद्धमा जानु नै गलत भएको बताए । अहिलेका शिक्षामन्त्री गिरिराजमणि पोखरेल नै त्यसबेला पनि शिक्षा मन्त्री भएको र उनैले अध्यादेश लगेको भए पनि अहिले नेकपाको दलीय स्वार्थका कारण उक्त अध्यादेश तोडमोड गरिएको कोइरालाको आरोप छ ।
“त्यसबेलाकै अध्यादेश पास गरिदिए भइहाल्थ्यो नि । अहिले किन यति ठूलो इस्यु बनाइएको ? बहुमतको दम्भ किन देखाउनुपर्यो ?” कोइरालाले भने । अनशन बसेको व्यक्तिलाई उपचार गर्ने बहानामा सरकारले दमन गर्नु गल्ती भएको उनको ठहर छ । “गोविन्द केसीको माया थियो भने अनशन बस्नेवित्तिकै वार्ता टोली बनाएर छलफल गर्नुपथ्र्यो । अहिले आएर गोली नै हानेर अपहरण शैलीमा केसीलाई काठमाण्डौ किन ल्याउनुपर्यो ?”
गोविन्द केसी नागरिकको हिसाबले माथेमा आयोगले दिएको सुझाबका आधारमा विधेयक पास गर्नुपर्छ भनेर अनशनमा बस्नु स्वभाविक भएकाले कांग्रेसले समर्थन गरेको कोइरालाले बताए ।








