काठमाण्डौ, राष्ट्रिय जनता पार्टीका नेता र प्रधानमन्त्री केपी ओलीबीच विहिबार साँझ भेटवार्ता भएको छ ।
राजपाका नेताहरुले प्रधानमन्त्री ओलीलाई भेटेर तराईको बाढी, दुईबर्ष अघिको आन्दोलनमा घाइतेको अवस्था र मुद्दा, तराईको विकास, मधेस र थारु आन्दोलनको छानबिनका लागि बनेको आयोगको प्रतिवेदन र संविधान ससोधनका बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
तर ओलीले भने तराईको समग्र विकासका बृहत योजना बनाउन राजपा नेताहरुलाई प्रस्ताव गरे । संविधान संशोधन, मधेस र थारु आन्दोलनको छानबिनका लागि बनेको आयोगको प्रतिवेदन जस्ता विषय अहिलेको समयमा असान्दर्भिक भएको भन्दै ओलीले अब विकास र समृद्धिको एजेण्डामा केन्द्रित हुन राजपाका नेताहरुलाई सुझाब दिए ।
तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदिका लागि बृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नुपर्ने बताए ।
भेटका अवसरमा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । प्रधानमन्त्री ओलीले ज्ञापन पत्र हेरेपछि राजपाले पहिला उठाएका कतिपय माग असान्दर्भिक भइसकेको प्रतिक्रिया दिएका थिए ।
संविधान संसोधनका बारेमा नेताहरुले राखेको जिज्ञासमा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन हुने ओलीले बताएका छन् ।








