काठमाण्डौ, सरकारले गणतन्त्र भारतका लागि नेपाली राजदूतमा निर्वाचन आयोगका पूर्वप्रमुख नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ ।
यसैगरी मलेसियाका लागि नेपाली राजदूतमा पूर्वराजदूत उदयराज पाण्डेलाई सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँहरुलाई ती देशका राजदूतमा सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । प्रस्तावित राजदूत उप्रेतीले भूटान र अफगानिस्तानका लागि तथा पाण्डेले इण्डोनेसिया र ब्रुनाई दारेसलामका लागि गैरआवासीय राजदूतका रुपमा पनि हेर्नेछन् ।
बैठकले अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव खगराज बरालको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । समितिमा गृहमन्त्रालयका सचिव प्रेमकुमार राई र स्वास्थ्य मन्त्रालयका एक सह सचिव रहनेछन् । त्यस्तै बैठकले बिभिन्न गाउपालीकाको केन्द्र परिवर्तन गरिएको छ । जसमा गोरखाको धार्चे गाउपालीकाको केन्द्र माछिखोला, पर्वतको मोदी गाउपालीकाको केन्द्र पाथिचौर र जनकपुर उपमहानगरपालीकाको नाम परिवर्तन गरि जनकपुरधाम उपमहानगरपालीका कायम गरिएको प्रवक्ता बास्कोटाले जानकारी दिए ।
त्यस्तै बैठकले भूकम्प प्रभावित जिल्लाका बिद्यालय निर्माणका लागी एसियाली बिकास बैंकबाट ऋण तथा अनुदान सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । राजस्व न्याधिकरण काठमाडौको अध्यक्षमा पाटन उच्च अदालतका न्यायधिश किशोर सिल्वाललाई तोक्ने निर्णय बैठकले गरेको छ ।
बैठकले सरकारी स्वामित्व भएका संस्थान, समिति, परियोजना, प्रतिष्ठान र मातहतका निकायमा काम गर्ने श्रमिक तथा कर्मचारीको पारिश्रमिक असोज मसान्तभित्रमा मात्रै बैंक मार्फत भुक्तानी हुने व्यवस्था गर्ने निर्णय गरेको छ । त्यस्तै प्रतिष्ठान मातहत काम गर्ने श्रमिक तथा कर्मचारी र घरेलु श्रमिकको पारिश्रमिक एवं वित्तीय सुविधा २०७६ पौष मसान्तभित्रमा मात्रै बैंक मार्फत अनिवार्य गरिने निर्णय भएको छ ।








