काठमाडौं, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अनशनरत डा.गोविन्द केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका छन् ।
सभापति देउवाले सोमबार एक विज्ञप्तिमार्फत डा.केसीको स्वास्थ्य स्थिति थप बिग्रंदै गएको खबरले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै यसमा सरकार वार्तामार्फत समाधानका लागि गम्भीर नहुनुलाई झनै गम्भीर विषयका रुपमा लिएको बताएका हुन् । सभापति देउवाले चिकित्सा शिक्षामा सुधारका लागि अनशनरत डा.केसीसँग वार्ता गरी उनका माग सम्बोधन गर्दै केसीे जीवन रक्षाका लागि तत्कालै अग्रसरता लिनु सरकारको दायित्व रहेको स्मरण गराए ।
मेरो नेतृत्वमा रहेको अघिल्लो सरकारले चिकित्सा शिक्षामा व्यापक सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेशमार्फत जारी गरेको थियो । डा केसीसँगको वार्ता, सरोकारवालासँगको छलफल, उच्चस्तरीय माथेमा कार्यदलको प्रतिवेदन एवं आम नागरिकको भावनालाई मध्यनजर राखेर जारी त्यो अध्यादेशकै हुबहु विधेयक प्रस्तुत गर्नु नै विद्यमान जटिलताको विवेक सम्मत् हल हुने मेरो दृढ निष्कर्ष छ” विज्ञप्तिमा उल्लेख छ ।
शासन सञ्चालन क्रममा सरकारले विवेकको मार्ग अख्तियार नगर्दा त्यसले गम्भीर दुर्घटना निम्त्याउने उल्लेख गर्दै उहाँले डा केसीको जीवनमा तलमाथि हुनसक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको गम्भीर आशंका उब्जिएको बताए । डा केसी चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १७ दिनदेखि जुम्लामा आमरण अनशनरत रहेका छन् ।
उता काँग्रेसले प्रतिनिधिसभाको आजको बैठकमा डा केसीका माग सम्बोधनमा सरकार गम्भीर नदेखिएको भन्दै सदन अवरुद्ध गरेको छ ।








