काठमाण्डौं, राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने स्पष्ट पारेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कर्णले आशा गरिएअनुसार सरकारले काम नगरेपनि समर्थन भने कायमै राखिने बताएका हुन् । पाँच वर्षका लागि समर्थन नगरिएको स्पष्ट पार्दै कर्णले आफूहरु सरकारलाई सफल पार्नका लागि प्रतिवद्ध रहेको बताए । तर सरकार आफ्नै कामले असफल हुन सक्नेप्रति कर्णले चिन्ता व्यक्त गरेका छन् ।
“हामी त सहयोग नै गर्छौँ । सफल होस् । तर सरकारको कुनै पनि काम सफलतातिर गएको देखिएको छैन ।” कर्णले भने ।
सरकार हरेक दिन बदनाम हुँदै गएको जिकिर गर्दै कर्णले अहिलेको सरकाले लोकतान्त्रिक पद्धतिलाई छाड्दै गएको आरोप लगाए । आफूहरुले अघि सारेका माग पूरा नभएसम्म सरकारमा सहभागि नहुने अडान कायमै रहेको कर्णले बताए ।
जनतासँग बाचा गरेका काम पूरा भएपछि मात्रै राजपा सरकारमा जाने बताउँदै कर्णले संविधान संशोधन र आन्दोलनमा सहभागि नेताहरुलाई लगाइएको झुटा मुद्धा फिर्ता हुनुपर्ने बताए ।








