जेष्ठ ३०,२०८३ / ११ : २४ अपरान्ह / 2026-06-13 11:24 pm
      • param ad
      • furniture
      • veera Incorporation

      गैंडा उपहारले चिन र नेपालबीचको आपसी सम्बन्धमा थप विस्तार भएको छ : प्रधानमन्त्री

      - ७ वर्ष अगाडि
      असार २८,२०७५

      काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र चीनलाई हस्तान्तरण गरिएको एक जोडी गैंडा उपहारले आपसी सम्बन्ध थप विस्तार भएको बताएका छन् । 

      नेपाल सरकारबाट मित्रराष्ट्र जनवादी गणतन्त्र चीन सरकारलाई एक जोडी एक सिंगे गैंडा (भद्र र रुपसी) उपहार हस्तान्तरण समारोहमा प्रधानमन्त्रिले आपसी भेटघाट आदानप्रदानले चीनसँगको ऐतिहासिक सम्बन्ध अझ प्रगाढ बन्दै गएको धारणा व्यक्त गरे । प्रधानमन्त्री ओलीले केही समयअघिको आफ्नो चीन भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट भएको स्मरण गर्दै भ्रमणका बेला भएको पारवहन र यातायातसम्बन्धी सम्झौता कार्यान्वयनको काम दु्रतगतिमा अघि बढेको जानकारी गराए । 

      भृकुटी र अरनिकोबाट शुरु भएको नेपाल–चीनबीचको सम्बन्धलाई भद्र र रुपसीले थप गाढा बनाएको प्रधानमन्त्री ओलीको भनाइ छ । चीनलाई हस्तान्तरण गरेका गैंडालाई चीन सरकारले उचित वातावरणमा हुर्किने व्यवस्था मिलाउने अपेक्षा गर्दै उनले मुलुकको भौगोलिक र जैविक विविधतामार्फत विभिन्न देशसँग नेपालको सम्बन्ध प्रगाढ बनेको बताए । नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०७३ असार २६ गतेको बैठकबाट चीन सरकारलाई दुई जोडी गंंैडा दिने निर्णयअनुसार चितवन राष्ट्रिय निकुञ्जबाट एक जोडी गैंडा ल्याई हस्तान्तरण गरिएको हो । अर्काे जोडी गंैडा आगामी साउनभित्र हस्तान्तरण गरिसक्ने बताइएको छ । 

      कार्यक्रममा प्रधानमन्त्री ओलीले साइटिस निर्यात प्रमाणपत्र र प्रजाति उत्पत्ति प्रमाणपत्रसहित एक जोडी गैंडा नेपालका लागि चिनियाँ राजदूत यु होङ मार्फत चीन सरकारलाई हस्तान्तरण गरेका थिए  । कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गैंडा हस्तान्तरण कार्य बहुआयामिक महत्वको भएको बताउँदै यसले आगामी दिनमा नेपालको पहिचानको चर्चा विश्वमा अझ बढ्ने धारणा व्यक्त गरे । 

      हस्तान्तरण गरिएका एक जोडी गैंडामध्ये भालेको नाम ‘भद्र’ र पोथीको नाम ‘रुपसी’ राखिएको छ भने दुवैको उमेर एकदेखि दुई वर्षको छ । भाले गैंडाको तौल अनुमानित ९०० केजी छ भने पोथी गैंडाको तौल एक हजार २०० केजी रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । दुवै गैंडालाई विहिबार साँझ चीनबाट आउने कार्गाे विमानमा राखेर लैजाने र गैंडालाई चीनको गोन्जाउ प्रान्तको चेमोलोङ सफारी पार्कमा प्राकृतिक वातावरणमा राखिने चिनियाँ दूतावासले जनाएको छ । 

      कार्यक्रममा चिनियाँ राजदूत यु होङले गैंडा उपहार चीन सरकारका लागि विशेष उपहार भएको बताउँदै उक्त गैंैडा उचित वातावरणमा आफ्नै घर ठानेर हुर्किने विश्वास व्यक्त गरे । चीन र नेपालबीचको भेटघाट र आदानप्रदानले सम्बन्धमा थप प्रगाढ र विस्तार हँुदै गएको बताईन् । वन्यजन्तु संरक्षण एवं प्रवद्र्धनका लागि नेपाल सरकारले हालसम्म मित्रराष्ट्र भारत, संयुक्त राष्ट्र अमेरिका, जापान, थाइल्याण्ड, अष्ट्रियालगायत मुलुकलाई २६ वटा गैंडा उपहारस्परुप प्रदान गरिसकेका छन् । 

      कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्ववनमन्त्री अग्निप्रसाद सापकोटा, राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओली, वन सचिव डा विश्वनाथ ओली, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्का, नेपाली सेनाका कायममुकाय प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखलगायतको उपस्थिती रहेको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d