काठमाण्डौ, चुनावमा अनपेक्षित हार बेहोरेको नेपाली कांग्रेसभित्र विभिन्न खाले भेला र बहस चलिरहेको छ । सोमबार नेपाली कांग्रेसका पुराना नेताहरुलाई जम्मा पारेर पार्टीभित्रको कमी कमजोरी केलाउने प्रयास गरिएको छ । तर सधैँजसो नेताहरु आरोप प्रत्यारोपमा नै उत्रिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूराना नेताहरु सम्मिलित भेलामा पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको छ । नेता डा. नारायण खड्काले सभापतित्व र दिपक खड्काले सञ्चालन गरेको उक्त भेलामा सहभागी पाका कांग्रेसी नेताहरुले एकमुष्ट रुपमा वर्तमान सभापति शेरबहादुर देउवाको कार्यशैलीको आलोचना गरेका थिए । भेलामा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला लगायतका नेताहरुको उपस्थिति थियो ।
पुराना नेताहरुको आलोचना सुनिसकेपछि आफ्नो धारणा राखेका सभापति शेर बहादुरले पार्टी भित्रै अन्तरघात भएको भन्दै आफ्नो बचाउन गर्ने प्रयास गरे । देउवाले पछिल्लो समय कांग्रेस भित्रै अविश्वास पैदा हुँदा विवाद बढ्ने गरेको बताए । आगामी दिनमा पार्टीभित्रको विवाद अन्त्यका लागि आफू प्रतिवद्ध रहेको शेर बहादुरको भनाई थियो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले समय सधैँ एकनाश नहुने भन्दै अहिले कांग्रेस कमजोर भए पनि पुनः बलियो पार्टी बनाउन सकिने बताए । धमिलिएको कांग्रेसको छवी सुधार गर्नका लागि पहिला समिक्षा गर्नुपर्नेमा पौडेलले जोड दिए ।
यस्तै नेता विजयकुमार गच्छादारले चुनावअघि ठूलो चुनौति बोकेर कांग्रेसमा प्रवेश गरेको उल्लेख गर्दै चुनावमा भने पार्टीभित्रबाटै भोट नदिइएको दाबी गरे । पार्टीलाई बलियो बनाउनका लागि उच्च मनोबलका साथ समस्या समाधान गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
गत वर्ष सम्पन्न स्थानीय, प्रदेश, संघको चुनावमा कांग्रेसले पराजय बेहोरेपछि आरोप प्रत्यारोप र भेलाहरु भइरहका छन् । तर पार्टीभित्रको विवाद र समस्या कम गर्ने उपाय भने अझै भेटिएको छैन ।








