काठमाण्डौ, नेपाल कम्युनिष्ट पार्टीनेकपाका अध्यक्ष पुष्पकमल दाहालले राज्यको हरेक तहमा महिला सहभागिताको हिसाबले नेपाल दक्षिण एसियामै अगाडि भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित योगमाया सामाजिक आन्दोलन शतवार्षिकी तथा ७८ औं स्मृति दिवस समारोहलाई सम्बोधन गर्दे दाहालले राज्यको हरेक तहमा महिला सहभागीता अझै बढाउनुपर्नेमा समेत जोड दिए । अझै पनि महिलाहरु माथि क्रुरता र हिंसा कायम रहेको भन्दै दाहालले यसलाई अन्त्य गर्नुपर्ने बताए ।
उनले राजनीतिक आन्दोलनहरुमा महिलाहरुको योगदान नभएसम्म आन्दोलन अगाडि बढ्न नसक्ने तर्क गरे । नेपालको राजनीतिक इतिहासमा योगमायाको योगदान खेर नगएको भन्दै योगमायाकै योगदानले नेपालको राजनीतिमा महिलाहरुको सहभागिता बढेको जिकिर गरे । उनले योगमायालाई राष्ट्रिय विभुति बनाउन सरकारमा भएको पार्टीको अध्यक्षको हैसियतले आफूले पूर्ण प्रयास गर्ने जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई , बिभन्नि दलका महिला नेतृ लगायतले योगमायाको योगदानको कदर गर्दै राष्ट्रिय विभुति घोषणा गर्नुपर्ने बताएका थिए । करिब एक शताब्दीपहिले नेपालको सामाजिक सुधारको आन्दोलनको नेतृत्व नेपालको पूर्वी पहाडको ग्रामीण इलाकामा पर्ने नदीकिनारबाट योगमाया न्यौपानेले गरेकी थिइन् ।
उनको आन्दोलनले १९७० सालदेखि करिब २८ वर्ष पूर्वी नेपाल र काठमाडौँमा तत्कालीन राणा सरकारमा समेत ठूलै हलचल आएको थियो ।








