काठमाडौं, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अपराध नियन्त्रण गर्न सकेमात्र मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएका छन् ।
नेपाल प्रहरी, अपराध अनुसन्धान विभागले शुक्रबार आयोजना गरेको ‘अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको प्रथम प्रदेश सम्मेलनको उद्घाटन गर्दै गृहमन्त्रीले अपराध नियन्त्रण गर्न सके विकास र समृद्धिको लक्ष्य पूरा हुने बताएका हुन् । उनले न्याय प्रशासनलाई विश्वासिलो बनाउन वस्तुगत प्रमाणमा आधारित अनुसन्धान आवश्यक रहेको बताए ।
निर्दोषलाई उन्मुक्ति दिन नसकेसम्म जनता र राष्ट्रको विश्वास जित्न नसकिने भन्दै गृहमन्त्री थापाले वस्तुगत प्रमाण जुटाएर अनुसन्धान गर्न प्रहरी तथा सरकारी वकिलको ध्यानाकर्षण गराए । राष्ट्रको अखण्डता र स्वतन्त्रताको रक्षा गरी जनताको अधिकार रक्षा गर्नेतर्फ सबै लाग्नुपर्ने उनको भनाइ थियो ।
उनले सुरक्षा नीति न्यायप्रणालीसँग जोडिएको विषय भएको र यसलाई समायनुकूल बनाउन सरकार लागेको स्पष्ट पार्दै गृहमन्त्री थापाले सुरक्षा नीतिमा गम्भीर त्रुटी भएको र त्यसलाई सच्याएर सरकार अगाडि बढ्न चाहाने उल्लेख गरे ।
दुई दिनसम्म चल्ने सम्मेलनमा आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिता (ऐन)को कार्यान्वयन, योजना बमोजिम अपराध अनुसन्धान अभियोजन र नियन्त्रण सम्बन्धी कानूनी व्यवस्था लागू गर्नेलगायतका विषयमा छलफल हुने अपराध अनुसन्धान विभागका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक धीरु बस्नेतले जानकारी दिए ।








