काठमाणडै , गृहमन्त्री रामबहादुर थापाले प्रर्दशनका नाममा जनताको अधिकार कुण्ठित हुन नदिन सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको स्पष्ट पारेका छन् ।
बुधबार राष्ट्रियसभाको दोस्रो बैठकमा गृहमन्त्री थापाले मुलुकमा सुशासन कायम राख्न र लोकतन्त्रको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध रहेको समेत दाबी गरे । सुशासन कायम गर्नका लागि विभिन्न ठाउँलाई निषेधित क्षेत्र तोकिएको भन्दै उनले विरोधलाई फरक किसिमले व्यवस्थित गर्न खोजेको तर्क गरे । त्यस्तै उनले विगतमा भएका सम्झौतालाई नै आधार मानेर चिकित्सा विधेयक सामान्य प्रक्रियाबाट ल्याउने प्रयास भइरहेको बताउँदै सरकारले अदालतको निर्णयलाई अवज्ञा नगर्ने बताए ।
उनले प्रशासन, प्रहरी र कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठान निषेधित क्षेत्र घोषणा गरिएकोमा सोहि स्थानमा केसीले अनसन गर्न खोजेकोले पक्राउ गरिएको जानकारी दिए । सामाजिक विकृति र विसंगतिका रुपमा रहेको छाउपडीलगायतका कुप्रथाको अन्त्य गर्न सामाजिक जागरणको अभियान सञ्चालन गर्नुपर्नेमा थापाले जोड दिएका छन् ।
आजै, प्रतिनिधिसभाको बुधबारको बैठकमा सार्वजनिक र राजनीतिक महत्वका विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले लोकतन्त्र विधिको शासन भएकाले आफ्ना मागहरु सोही ढंगले अघि बढाउनुपर्ने बताए । लोकतान्त्रिक विधि र सुशासनमार्फत विद्यमान सबै समस्याको समाधान गरिने भन्दै अनशनरत केसी र गंगामाया अधिकारीको मागलाई सम्बोधन गरिने उनको भनाई थियो ।
जननिर्वाचित प्रतिनिधिसभामार्फत विधिसम्मतरुपमा समस्याको समाधान गरिने भन्दै थापाले विशेष किसिमका मुद्दा सम्बोधन गर्न सरकारले सदनमा विधेयक ल्याउने जानकारी दिए । निर्माण व्यवसायी तथा वैदेशिक रोजगारीमा देखिएको ठगीलाई सरकारले छुट नदिने भन्दै कडा कारबाही गर्ने गृहमन्त्री थापाले चेतावनी दिए ।
लागू औषध कारोवारीको पहिचान भईसकेको भन्दै कारवाहीको दायरामा ल्याईने बताए ।
गृहमन्त्री थापाले प्राकृतिक विपद्मा क्षति भएकाका लागि क्षतिपूर्ति एवं राहत तत्काल उपलब्ध गराउने निर्णयसहित कार्यान्वयनमा लगिएको थापाले बताए । बाढी पहिरोबाट १८ जिल्लामा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको, आठ जना घाइते र दुई जना बेपत्ता भएको थापाले जानकारी दिएका छन् ।








