काठमाण्डौ , नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस पार्टीलाई मजवुत बनाउन पार्टी नेतृत्वलाई खवरदारी गर्नुपर्ने बताएका छन् ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९५ औं जन्मजयन्तीको अवसरमा नेपाल बिद्यार्थी संघ प्रदेश नंवर ३ ले मंगलबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा नेता सिटौलाले पार्टीभित्र देखिएका बिसंगतीलाई अन्त्य गर्दे पार्टीलाई आमूल परिवर्तन गर्नुपर्ने बताए । आफुहरु लोकतान्त्रीक समाजवादी पार्टीका नेता तथा कार्यकर्ता भएको भन्दै उनले पार्टीभित्रको सामन्ती व्यवहार सह्य नहुने धारणा समेत राखे ।
नेता सिटौलाले सरकारले राज्यको हरेक निकायलाई प्रदुषण गरेको टिप्पणी पनि गरे । संबैधानिक निकाय र न्यायलयलाई पनि सरकारले आफ्नो ईशारामा चलाउन खोजेको उनले आरोप लगाए । उनले प्रतिपक्षी दल कागं्रेसले बिभिन्न समितिमा प्रतिनिधित्व माग्नुको कुनै औचित्य नभएको भन्दै सरकारको कामकारवाहीको विरुद्ध सदनमा कडा आवाज चर्काउनुपर्ने जिकिर गरे ।
त्यस्तै काग्रेस नेता गगन थापाले निर्वाचनमा जित हार हुनु सामान्य बिषय भएपनि पराजयको मुख्य कारण अहिले सम्म पहिचान गर्न नेतृत्व अफसल भएको तर्क गरे । अहिले सरकारको स्थीरताको प्रश्न नभएको भन्दै प्रश्न व्यवस्थाको स्थायीत्वको बिषय भएको बताए ।
कार्यक्रममा काग्रेस नेताहरुले मुलुकको गणतन्त्र स्थापनामा स्वर्गीय कोईरालाले गरेको योगदानको चर्चा गरेका थिए ।








