काठमाण्डौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारसँग अंश खोजेको आरोप लगाएको छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री तामाङले कांग्रेसी नेताहरुलाई अहिले भाग पाईएन भनेर छट्पटी भैरहेको आरोप लगाए । संवैधानिक नियुक्तीका लागि कांग्रेसले भाग खोजेका कारण संसदीय समिति बन्न नसकेको तामाङको जिकिर छ ।
मन्त्री तामाङले कांग्रेसले भनेजस्तो विभिन्न समितिको सभापति दिन नसकिने बताए । मन्त्री तामाङले कांग्रेसलाई यसैगरि अंश खोज्ने हो भने सरकारमा सहभागी हुन समेत आग्रह गरे । कांग्रेसकै कारण प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र राजदुतलगायतको नियुक्तीमा ढिलाई भएको उनको दाबी छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुक समृद्धिको दिशामा अघि बढेकोले कांग्रेसलाई बाहिर राख्ने आफूहरुको विल्कुल कुनै चाहना नरहेको उनको भनाई थियो । कांग्रेसका नेताहरुले त स्वयम कानूनमन्त्रीले नै कानून उल्लंघन गरेका छन् भन्ने आरोप लगाएका छन् नि भनेर पत्रकारले सोधेको प्रश्नमा उनले सरकार पूर्ण रुपमा कानून र संविधानको आदेश अनुसार नै चलेको दाबी गरे । मन्त्री तामाङले अनशनकारीले भनेकै भरमा काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्ने काम नरोकिने स्पष्ट पारेका छन् ।
फरक प्रसँगमा उनले आफ्नो मन्त्रालय यतिवेला विभिन्न कानूनहरु मस्यौदा गर्न व्यस्त रहेको जनाउँदै यही असार मसान्तभित्र विभिन्न २० देखि २५ कानूनहरु संसदमा टेबुल भैसक्नेपनि जनाए । संविधानले नै निर्दिष्ट गरेबमोजिम असोज ३ गतेअघि नै मौलिक हकसम्बन्धी सबै कानूनहरु निर्माण भैसक्ने र काार्यान्वयनमा आउने पनि उनले जनाए ।
माईतिघर मण्डलामा समातिए विवेकशीलका शीर्ष नेता, सरकारले अधिनायकवाद लादेको मिश्रको आरोप
असार १६, काठमाण्डौ । सरकारले साउन १ गतेदेखि विरोध प्रदर्शनका लागि निश्चित स्थान तोक्दै तोकिएका स्थानबारे अन्यत्र प्रदर्शन गरे कडा कारवाही गर्ने चेतावनी दिएको थियो । तर विवेकशील साझा पार्टीले आज माइतिघरमण्डलामा विरोध प्रदर्शन गर्दा धरपकड गरिएको छ ।
सरकारले साउन १ गतेदेखि विरोध प्रदर्शनका लागि निश्चित स्थान तोक्दै तोकिएका स्थानबारे अन्यत्र प्रदर्शन गरे कडा कारवाही गर्ने चेतावनी दिएको २ दिनपछि विवेकशील साझा पार्टीले माइतिघरमण्डलामा विरोध प्रदर्शन गरेको थियो । बिहीबार गृहमन्त्रालयले पत्रकार सम्मेलन गर्दै उपत्यकाका काठमाडौ ललितपुर र भक्तपुरका निश्चित स्थानमा मात्र विरोध प्रर्दशन गर्न पाउने निर्णय गरेको थियो ।
तर विवेकशीले साउन नलाग्दै गरेको विरोध प्रदर्शनमा पनि धरपकड गरिएको हो । साउन १ गतेदेखि तोकिएको स्थानमा मात्र प्रर्दशन गर्न पाउने निर्णय सरकारले गरेपनि शनिबार माईतिघरमा विरोध प्रर्दशन गर्न गएका विवेकशील साझा पार्टीका नेता तथा कार्यकर्ताहरु पक्राउ गरेको परेका हुन् । सरकारले असारे बजेटमा काम गरेको र चिकित्सा शिक्षामा सबैको पहुँचको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।
पक्राउ पर्नेमा विवेकशील साझाका संयोजक उज्वल थापा, अधिबक्ता डाक्टर सुरेन्द्र भण्डारी, शसीविक्रम कार्की लगायतका १० भन्दा बढि छन् । उनीहरुलाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो । विरोध प्रदर्शन कार्यक्रममा विवेकशीलका संयोजक रविन्द्र मिश्रले राज्यको ढुकुटीमा पहुँच भएकाहरुमा मात्रै नेपालको स्वास्थ्य र शिक्षा रहेको आरोप लगाए । कुनै पनि व्यक्तिको विरोध गर्न पाउने अधिकारलाई कुण्ठित गर्दे सरकार अधिनायवादतर्फ लम्केको मिश्रको आरोप छ ।
यसअघि गृहमन्त्री रामवहादुर थापाले विरोधका लागि तोकिएका स्थानबाहेक अन्यत्र प्रदर्शन गरे कारबाही गरिने चेतावनी दिएका थिए । आगामी साउन १ गतेदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्न निषेध गरिएको जानकारी दिँदै थापाले अधिनायकवाद नभई सरकार विधिअनुसार चल्ने दाबी गरेका थिए ।
पत्रकार सम्मेलनमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले तोकिएको स्थानमा मात्र बिरोध प्रर्दशन गर्न आग्रह गरेका थिए । काठमाडौमा बसोवास गर्ने जनसंख्या बढेका पनि शान्ति सुरक्षामा चुनौति थपिदै गएकाले विरोध प्रर्दशनका लागि स्थान तोकिएको उनको भनाई थियो ।
यसअघि प्रशासन कार्यालयले तोकिएको स्थानमा मात्र विरोध प्रर्दशन गर्न पटक पटक सूचना सार्वजनिक गरेपनि पटक कार्यान्वयनको मिति सारिदै आएको थियो । मन्त्रालयका अनुसार अव काठमाडौंमा ७, ललितपुरमा ६ र भक्तपुरमा एउटा ठाउँमा मात्र विरोध प्रदर्शन गर्न पाउनेछन् ।
जसअनुसार काठमाडौंको खुलामञ्च, तीनकुने, भुइँखेल भगवानपाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण, सिफल चौर र लैनचौरस्थित समाज कल्याण परिषद्दको खुला क्षेत्रका लागि विरोध प्रदर्शनका लागि स्थान तोकिएको छ । त्यस्तै ललितपुरका च्यासल खेल मैदान, गोदावरी बसपार्कको खाली क्षेत्र, भैंसेपाटी छ्यासीकोटको खुला ठाउँ, बज्रबाराहीको खुला ठाउँ र लुभु लामाटार तथा भक्तपुरको सल्लाघारी खुला मैदानलाई पनि विरोध प्रदर्शनका लागि तोकिएको छ ।








