काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनवीचको कनेक्टिभिटि रेलमार्ग निर्माणबारे परिपक्व ढंगले निर्णय गरिने बताएका छन् ।
पाँचदिने चीन भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्री ओलीले रेल कनेक्टिभिटीबारे भएको सहमति सबैभन्दा महत्वपूर्ण भएको बताए । भ्रमणका क्रममा दुई देशबीच केरुङ–रसुवागढी–काठमाडौं रेलमार्गका लागि चिनियाँ अनुदानमा पूर्वसम्भाव्यता अध्ययन गर्ने सहमति भएको स्पष्ट पारे । जसले काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि पनि आधार तयार भएको प्रधानमन्त्रीले बताए । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा रेल र्पुयाउने आफ्नो भिजन रहेको बताएको प्रधानमन्त्री ओलीले सवैमाझ खुलस्त पारे ।
चिनियाँ रेल ल्याउनु पर्नेमा सबैको जोड छ । तर, लगानीको मोडालिटीबारे यो भ्रमणमा पनि कुनै सहमति जुटेको छैन । नेपालले अनुदानमा बनाउन प्रस्ताव गरेको छ ।
सम्भाव्यता अध्ययन सकिएपछि लगानीको कुरा हुने भन्दै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले रेल्वे कनेक्टिभिटीबारे नयाँ उपलब्ध हासिल हुने जानकारी दिए ।








