काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले विहिवार बेइजिङस्थित चाइना कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको कार्यालयस्थित रहेको संग्रहालयको अवलोकन गरेका छन् ।
सिपिसीको पार्टी स्कुलले आयोजना गर्ने छलफलमा सहभागी हुनुपूर्व प्रधानमन्त्री ओलीले उक्त संग्रहालयको अवलोकन गरेका हुन् । संग्रहालयमा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास झल्काउने विविध सूचनासहितको सामग्री राखिएका छन् । अवलोकनका क्रममा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यसहित भ्रमणदलमा सहभागी मन्त्री तथा सांसद र सरकारी उच्च अधिकारीको सहभागिता रहेको थियो ।
सो संग्रहालयमा कम्युनिष्ट नेताले आफ्ना कार्यकर्तालाई कसरी अनुशासित गर्ने तथा पार्टीका बारेमा कसरी प्रशिक्षित गर्ने भन्ने बारे झल्काइएको छ । पार्टीको संगठनका विषयमा कुन विषय सही र कुन गलत हो भन्ने विषयबारे जानकारी गराइनेबारे तस्बीर तथा यहाँ संग्रहित वस्तुले जानकारी गराउछ ।माओका विचारलाई अगाडि बढाउने र चिनियाँ विचार तथा शैलीसहितको समाजवादको विकास कसरी गर्ने भन्ने विषयमा पनि उक्त संग्रहालयले जानकारी दिन्छ ।
प्रधानमन्त्री ओलीले पार्टी स्कुल विभागको आयोजनामा विकास र समृद्धिमा राजनीतिक दलको भूमिका विषयमा प्रवचन दिएका छन् भने विहिवार नै चीनका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै छन् ।








