काठमाण्डौ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटको मर्मलाई बुझेर टिप्पणी गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपाको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका हुन् ।
ओलीले समृद्धिको आधार तयार गर्न सरकारको बजेट सकारात्मक रहेको बताउँदै असन्तुष्टि भएमा संसद्मा नभई पार्टीमा राख्न सांसदहरुको ध्यानाकर्षण गराएका छन् । सरकारका काम र बजेटका असन्तुष्टि राख्न पार्टीका सांसदले नेतृत्वलाई सुझाव दिन उपयुक्त हुने ओलीले बताए ।
बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बहुमत प्राप्त सरकारले ल्याएको बजेटमा आफ्नै सांसदहरुले सदनमा बिरोध गर्नु उचित नभएको बताए । दाहालले बजेटमा भएका कमी कमजोरी पार्टीभित्र सुझाव दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा कतिपय सत्तारुढ दलकै सांसदले बजेटको आलोचना गरेपछि नेकपाले संसदीय दलको बैठक बोलाई बजेटका बिषयमा पार्टी भित्र फरक मत राख्न निर्देशन दिएको हो ।
बैठकपछि नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले बजेटमाथि आएका टिकाटिप्पणीका बिषयमा सांसदहरुको राय लिन बैठक बोलाईएको र बजेटमाथि नै केन्द्रित रहेर छलफल गरिएको बताए ।
बैठकमा संसदीय दलको विधानमाथि छलफल भएको छ । संसदीय दलको विधान तयार गर्नका लागि भीम रावलको संयोजकत्वमा गठन भएको थियो । कार्यदलले यसअघि नै संसदीय दलमा बोर्ड गठन गर्ने गरी विधानको मस्यौदा तयार पारेको थियो । त्यस्तै कार्यदलले तयार पारेको विधान मस्यौदामा संसदीय दलमा आवश्यक समिति एवं उपसमितिहरू समेत गठन गर्ने उल्लेख छ ।








