जेष्ठ ३०,२०८३ / ०८ : २४ अपरान्ह / 2026-06-13 08:24 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ओली र प्रचण्डले पार्टीलाई गोबरको थुप्रो बनाए, नेकपाका नेतामा दम्भ धेरै भयो : खनाल

      - ७ वर्ष अगाडि
      असार २,२०७५

      काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डले मात्रै पार्टी चलाउँछु भन्नेतिर लागे भने पार्टी कमजोर हुने बताएका छन् । 

      प्राइम टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेता खनालले ओली र प्रचण्डले मात्रै निर्णय गरेर पार्टी नचल्ने भन्दै सामुहिक छलफल र निर्णयका आधारमा पार्टी चलाउनुपर्ने बताए । 

      “दुईजना नेताहरुले मात्रै हामी पार्टी चलाइहाल्छौँ भन्नुभयो भने पार्टी चल्दैन । यसरी यो पार्टी अगाडि बढ्न सक्दैन ।” खनालले भने ।

      आफू पार्टीभित्र कमजोर हैसियतमा रहेको भन्ने तर्कको खनालले खण्डन गरेका छन् । 

      पार्टीलाई वैचारिक, राजनीति र सैद्धान्तिक रुपले रुपान्तरण गर्न सक्नुपर्ने खनालको तर्क छ । पार्टीमा मान्छे जम्मा गरेर मात्रै पार्टी नचल्ने उनको जिकिर छ । “पार्टी एकीकरण गर्ने भनेर भएभरका मान्छे हुल्यो, तर जिम्मवारी छैन, कुनै काम पनि दिनु छैन । यस्तो तरिकाले त पार्टी गोबरको थुप्रो जस्तै हुन्छ ।” खनालले भने । 

      अहिले नेकपा ठूलो पार्टी भयो भन्दैमा दम्भ र घमण्ड गर्न नहुने खनालको सुझाब छ । 

      “जसजसमा दम्भ र घमण्ड बढेको छ, तिनीहरु असफल हुँदै जानेछन् । कम्युनिष्ट पार्टी कहिल्यै घमण्डी हुँदैन । तर कतिपय नेताहरु घमण्डी देखिएका छन् । तिनीहरुबाट सचेत हुनुपर्छ ।” खनालले भने ।

      खनालले अहिले भइरहेको मूल्यवृद्धिको कारणहरुलाई गहिरिएर अध्ययन गर्न सरकारलाई सुझाब दिएका छन् । 

      “मूल्यवृद्धि सरकारका लागि चुनौति हो । चुनौतिको रुपमा लिएर नियन्त्रणका लागि आवश्यक कदम तुरुन्त चाल्नुपर्छ ।” खनालले भने । “जनतालाई राहत दिने हिसाबले आवश्यक कदम चाल्नुपर्छ । यो सरकार जनताको हित र सबैप्रकारका दुःख कष्ट निवारण गर्नका लागि गठन भएको हो । सरकारले जे बोलेको छ त्यो गर्नैपर्छ ।”

      नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन गर्नु अहिलेको सरकारको चुनौति भएको बताएका छन् । 

      नेता खनालले बजेटका आधारभूत सिद्धान्तहरु राम्रा भएको जिकिर गरे । 

      बजेट वितरणमा सत्तापक्षका सासंदहरुले नै असन्तुष्टी जनाएको सन्दर्भमा भने खनालले आवश्यकताअनुसार सच्याउनुपर्ने सुझाब दिए । 

      चुनावी घोषणपत्रमा जेष्ठ नागरिकलाई दिइने वृद्ध भत्ता रकम बढाएर मासिक पाँच हजार पुर्याउने उल्लेख गरिए पनि यसपटक किन बढाइएन भन्ने धमलाको प्रश्नमा खनाले भने, “हो, यही कुराले नै हामीले चुनाव जितेर आएका हौँ । यसलाई आगामी दिनमा ठीक ढंगले सम्बोधन गर्ने विषयमा अर्थमन्त्रीको ध्यान जानुपर्छ ।”

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d