जेठ ३०, काठमाण्डौ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावी दिएको छ ।
पछिल्लो पटक मूल्यवृद्धि भएदेखि नेवि संघले देशव्यापी रुपमा आन्दोलन गरिरहेको छ ।
आज ग्रामीण आदर्श क्याम्पस, मनोहर क्याम्पस र एनआर क्याम्पसको आयोजनामा काठमाण्डौको गोँगबु चोकमा विरोध प्रदर्शन गरिएको थियो ।
विरोधमा भेला भएका नेविसंघका नेता तथा कार्यकर्ताले सरकारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।
नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले मूल्यवृद्धिसम्बन्धी आन्दोलन नेविसंघको मात्र नभएर सबै नेपालीको भएको बताएका थिए ।
“पेट्रोलियम पदार्थको वृद्धिले हरेक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ, जनता मारमा परेका छन्, त्यसैले नेविसंघ विरोधमा उत्रिएको हो,” काफ्लेले भने ।
नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने विषयमा छलफल भइरहेको भट्टले बताए ।
पछिल्लो मूल्यवृद्धि भएपछि पेट्रोलको मूल्य रु ११५ र डिजेलको मूल्य रु ९५ पुगेको छ ।








