काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको गुटवन्दी अन्त्य गर्नका न्याय, निष्पक्षता र पारदर्शिताको खाँचो रहेको बताएका छन् ।
नेपाल बिद्यार्थी संघले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा पौडेलले गुटबन्दी अन्त्यका लागि नेतृत्वले सबै पक्षलाई न्याय गर्नुपर्ने बताएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै पौडेलले नेतृत्वले कुरा नबुझ्ने भन्दै व्यङ्ग्य समेत गरे ।
कांग्रेसलाई पुरानो ठाउँमा लानुभन्दा पनि नयाँ ठाउँमा लानुपर्ने उल्लेख गर्दै यसका लागि संगठन बलियो बनाउनुपर्ने सुझाव पौडेलले दिए । लोकतन्त्रलाई संकटबाट जोगाउन कांग्रेसको भूमिका महत्वपूर्ण हुने भन्दै सबै कांग्रेसलाई समान दृष्टिले हेर्नुपर्ने पौडेलले बताए । पौडलले अहिलेको संसदीय व्यवस्था नै मुलुकको हितमा रहेको भन्दै निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणाली मान्य नहुने चेतावनी दिए ।
कार्यक्रममा काग्रेस नेता कृष्ण प्रसाद सिटौलाले सरकारले जनताको भावना विपरित सरकारको कामकारवाहीको विरोधमा सदनमा कडा ढंगले आवाज उठाउनुपर्ने बताए । पार्टी सभापतिले पार्टीलाई एकतावद्ध रुपमा अघि बढाउन नसकेको आरोप सिटौलाले लगाएका छन् ।
त्यस्तै काग्रेस नेता प्रकाशमान सिंहले एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनिसकेको अवस्थामा कांग्रेस आफै मिल्न नसक्नु दुर्भाग्य भएको बताए ।
त्यस्तै काँग्रेस नेता गगन थापाले प्रदेश लगायत स्थानीय तहलाई अवमुल्यण गर्दै सरकारले संघीयता विरोधी काम थालेको आरोप लगाएका थिए । काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसलाई पेलेर जाने नीति लिएको आरोप लगाएका छन् ।








