जेठ २३, काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीमा संलग्न ठूला माछालाई पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
थापाले पछिल्लो समय अनुसन्धान भइरहेको ३३ किलो सुन काण्ड र सनम शाक्य हत्यामा अनुसन्धान जारी रहेकोले ठूला माछा पनि पर्ने बताएका छन् ।
गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “माछा मार्ने काम जारी छ। यसमा अनुसन्धान जारी छ । अहिले भुरा र मझौला माछाहरु परेका छन्। आशा गरौँ ठूला माछा पनि पर्नेछ, पर्नुपर्छ ।”
“तपाईँहरुले थाहा पाउनु भयो होला, हिजो एक जना माछा फेरि परेको छ । त्यसैले माछा मार्ने काम जारी छ । यो बारेमा अहिले यत्ति नै भनौँ ।”
चुडामणि उप्रेती गोरेको बयानका आधारमा अनुसन्धान गर्दै जाँदा गोरेका सहयोगी भनिएका रामकुमार तिवारी हिजो पक्राउ परेका थिए ।








