काठमाडौं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्टहरुले मात्रै लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गर्न सक्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ चार नम्बर प्रदेशले सोमबार बिहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रमको सम्बोधन गर्दै त्यस्तो बताएका हुन् । त्यसैगरी दाहालले दुई नम्बर प्रदेशमा चलखेल गरेर केन्द्र सरकारलाई अस्थीर बनाउने कोशिस गरेकाले संघीय समाजवादी फोरमलाई केन्द्र सरकारमा ल्याएको बताएका छन् । वर्तमान सरकारमा हालै संघीय समाजवादी फोरम पनि समावेश भएको छ । सरकारमा फोरम अध्यक्ष उपेन्द्र यादव आफै स्वास्थ्यमन्त्री छन् ।
आर्थिक वर्ष २०७५र७६ को बजेटको सत्तापक्षबाट समेत आलोचना भइरहेको बेला दाहालले आगामी दिन अझ सन्तुलित ढंगले अगाडि बढ्ने पाठ सिकेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत तीनै तहको सरकार बनेपछिको पहिलो बजेट भएकाले पनि केही प्रश्नहरु उठेको उनले बताए । देशको आर्थिक स्थितिको असन्तुलनको अवस्था, व्यापार घाटा अवस्था सबैलाई मध्यनजर गरेर बजेट ल्याएको उनले बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिलेको सरकार तानाशाही बन्ने सम्भव नभएको पनि स्पष्ट पारे ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा कम्युनिस्टहरुकै मुख्य भूमिका रहेकाले प्रतिपक्षीले आरोप लगाएजस्तो तानाशाही बन्ने कुरा निराधार रहेको उनको भनाइ छ ।








