काठमाडौं, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने राजकीय भ्रमणका लागि उत्तरी छिमेकी देश चिन भ्रमणका लागि जाने भएका छन् ।
प्रधानमन्त्री ओली असार ५ गतेदेखी १० गते सम्मको भ्रमणमा चीनसँग अन्तर देशीय कनेक्टिभिटी अन्तर्गत रेल सञ्जाल निर्माणसहितका परियोजनामा हस्ताक्षर तयारी सहित उत्तरी छिमेकी देश चीन जान लागेका हुन् ।असार ५ गतेदेखि १० गतेसम्म हुने भ्रमणको तालिका मिलाएर चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल बेइजिङ प्रस्थान गरिसकेका छन् । सरकारले ओलीको चीन भ्रमण कार्यक्रमलाई गोप्य रुपमा राखेको छ ।
ओलीको चीन भ्रमणको कार्यक्रमको टुंगो दुवै देशले बुधबार मात्र निश्चित गरेका हुन् । प्रधानमन्त्रीको चीन भ्रमणका लागि मिति भने चीनले नै प्रस्ताव गरेको जनाईएको छ । नेपाली पक्षले बुधबार भ्रमण मितिमा सहमति जनाएपछि विस्तृत कार्यक्रम पनि चीनले बुधबारै पठाइसकेको छ । चीनका लागि नेपाली राजदूत पौडेलले प्रधानमन्त्रीको भ्रमणबारेमा बुधबारै बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारमा भेटेर जानकारी गराए ।
ओली चीन भ्रमणका क्रममा सिचुवान प्रान्त पनि पुग्ने भएका छन् । ओलीको भ्रमण पूर्वतयारीका लागि परामर्शमा आएका चीनका लागि नेपाली राजदूत पौडेल चार दिन पछि चिन फर्केका छन् ।
यसअघि ओलीले सांघाई को(अपरेसन अर्गनाइजेसनको सम्मेलनको अवसरमा चीन जान चाहेका थिए । तर चीनले समय मिल्न नसक्ने भन्दै त्यसको दुई साता पछिका लागि भ्रमण तालिका मिलाएको तय गरीएको हो । यसअघि पहिलो कार्यकालमा ओली २०१६ मार्च २० देखि चीनको भ्रमणमा गएका थिए ।
त्यसबेला महत्वपूर्ण पारवाहनसहितका सहमतिमा हस्ताक्षर भएको थियो ।








