उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महत चयन –
काठमाडौं, कांग्रेस सभापति शेरबहादुर देउवाले तीन पदाधिकारी चयन गरेका छन् । उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महत चयन भएका हुन् । सभापति देउवाले मनोनयन गरेका तीनैजनाको नाम पार्टी केन्द्रीय कार्यसमितिको बहुमत सदस्यले अनुमोदन गरेका हुन् ।
महाधिवेशनको दुई महिनामा गरिसक्नुपर्ने पदाधिकारी चयन देउवाले २६ महिनामा गरेपछि विधानअनुसार नचलेको भन्दै रामचन्द्र पौडेल पक्षले भने प्रक्रिया नै बहिष्कार गर्यो ।
‘हामीले सर्वसम्मतिबाट पदाधिकारी चयनका लागि पहल गर्यौँ । यसका लागि केही दिनको समय पनि लियौँ,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘तर, बहुमतीय प्रक्रियाबाट पदाधिकारी चयन गरिएको छ ।’ पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा २१ (घ) तथा नियमावली २०६८ को नियम १२ (१) बमोजिम केन्द्रीय कार्यसमिति पदाधिकारी चयन गरिएको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अब पदाधिकारीमा संस्थापनका देउवासहित चार र पौडेल पक्षका दुईजना भएका छन् । निर्वाचित ६३ सदस्यमध्ये पदाधिकारी मनोनयनको प्रस्तावमा ३७ जनाले हस्ताक्षर गरेका छन् । यो संख्या बहुमतभन्दा ५ ले बढी हो ।








