जेष्ठ ३०,२०८३ / ०७ : १५ अपरान्ह / 2026-06-13 07:15 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले जुराउन सकेनन् पार्टी एकताको साइत

      - ८ वर्ष अगाडि
      वैशाख १५,२०७५
      काठमाडौं,  एमाले र माओवादीबीचको पार्टी एकताको मिति अझै अनिश्चित भएको छ। प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको मिति तय गर्ने भनेर बसेको शुक्रबारको बैठकमा उक्त विषयमा टुंगो लाग्न सकेन। 

      शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा पार्टी एकताका बारेमा सामान्य छलफल भएको बताइएको छ। स्रोतका अनुसार दुई अध्यक्षबीच बैशाख ९ गतेको कार्यक्रममा उठेको विवादबारे र त्यसपछि एमाले अध्यक्ष ओलीले दिएको वक्तव्यका बारेमा कुरा भएको थियो। ब्यानरमा विवाद भएपछि ९ गतेको कार्यक्रम चार घण्टा अवरुद्ध भएको थियो भने उक्त कार्यलाई ओलीले माओवादी नेता कार्यकर्ताको केटाकेटीपन भनेर टिप्पणी गरेका थिए। 

      प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने दुई नेताबीच एक्लाएक्लै भएको वार्तामा मिल्न बाँकी विषयमा सकारात्मक छलफल भएको जानकारी दिए। बैशाख ९ गते गर्ने भनिएको एकता माओवादीले सम्मानजनक र बराबरी हुनुपर्ने धारणा अगाडि सारेको र उक्त कुरामा एमाले तयार नभएकाले अनिश्चित बनेको छ। 

      मजदूर दिवसका दिन १८ गते पार्टी एकताको तयारी भइरहे पनि उक्त दिन पनि पार्टी एकता हुन सक्ने सम्भावना नरहेको स्रोतको भनाइ छ। विवादका विषयमा सहमति हुन नसकेकाले उक्त मितिमा पनि एकता नहुने सम्भावना बढेको हो। ९ गते ओली र प्रचण्डले छिट्टै पार्टी एकताको मिति तय गर्ने घोषणा गरेका थिए। त्यसपछि सार्वजनिक कार्यक्रमहरूमा माओवादी अध्यक्ष प्रचण्डले शुक्रबारको छलफलबाट पार्टी एकताको मिति तय हुने बताउँदै आएका थिए।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d