काठमाडाैं, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माअाेवादी केन्द्रसँगकाे एकता प्रक्रियालाई सफल बनाइ छाड्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसकाे अवसर पारेर दुवै पार्टीकाे एकता संयाेजन समितिले राजधानीको राष्ट्रिय सभागृहमा अाज अायाेजना गरेकाे संयुक्त कार्यक्रममा अाेलीले पार्टी एकता सफल भएरै छाड्ने बताए ।
‘अब हामीले कसैलाई दोष लगाउने र कसैको टाउकोमाथि जिम्मेवारी फालेर उम्किने ठाउँ छैन,’ उनले भने, ‘एकतालाई सफल पार्नेबाहेक हामीसँग अरु बाटो छैन ।’
एकता प्रक्रिया निकै अघि बढिसकेको भन्दै प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा भने, ‘अस्ती मैले एकता संयोजन समितिको बैठकमा पनि भनेको थिएँ । हामी यो ठाउँमा पुगिसकेका छौं, अब जुत्ता मिलेन भनेर त्यत्तिकै हिँड्न मिल्दैन । मिलेन भने खुट्टामा टाँसजुस पारेर भने पनि जानुपर्छ । हामी त्यो ठाउँमा पुगिसक्यौं ।’
उनले एकताअघि दुवै पार्टीमा केही समस्या हुने भए पनि एकतापछि सबै कुरा सामान्य बन्दै जाने बताए ।
‘बिहे गर्नुभन्दा अघि त एउटै घर हुँदैन । दुलाहाको अन्तै र दुलहीको अर्के घर हुन्छ । त्यसकारण यो घर यसको र उसको भन्ने हुन्छ । बिहेपछि जब एक भइन्छ सबैको माया लाग्न थाल्छ । यो एकता पनि त्यस्तै त्यस्तै हो, ’ उनले भने ।
ओलीले सम्मान, समानता र न्यायसंगत एकता हुने भन्दै त्यसैलाई प्रमुख आधार बनाएर पार्टी एकता गरिने दावी गरे । एमाले र माओवादीबीच एकता रोक्नपर्ने कुनै विषय बाँकी नरहेको उनकाे भनाइ थियाे ।








