नयाँ दिल्ली,भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीलाई शनिबार ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। आफ्नो सम्मानमा भारतले दिएको सम्मान गारत सम्पन्न भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीचको मित्रवत् सम्बन्ध जनचाहनानुसार अगाडि बढ्ने बताएका छन् । त्यस्तै उनले पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै भारतसँगको सम्बन्ध नवीकरण गर्न आएको बताए ।
जनताको जीवनस्तर उकास्नका लागि मिलेर काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार र जनस्तरमा विद्यमान दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पुर्याउन आफू भारत भ्रमणमा आएको बताए ।
भ्रमणका अवसरमा भारत सरकार र निजी क्षेत्रसँग छलफल भइरहेको बताउँदै उनले आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान दिइएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीलाई उनका समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए। सो अवसरमा नेपाल र भारतका राष्ट्रिय धून बजाइएका थिए ।








