काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा जान लागेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक महत्वको वक्तव्य दिँदै उहाँले भारतका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत २३ गतेदेखि आफू तीनदिने भ्रमणमा जान लागेको जानकारी दिनुभएको हो ।
आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा जान लागेको जानकारी गराउँदै ओलीले भने– ‘मेरो भ्रमणमा नेपाल भारत सम्बन्धलाई अझै मजबुद बनाउने विषयमा मेरो प्रयास रहनेछ।’
नेपाल र भारतका बीचमा सदियौदेखिको बहुआयामिक सम्बन्ध रहेको र त्यो मैत्रीपूर्ण भएको उल्लेख गर्दै प्रम ओलीले थपे– ‘कहिले कहिले कसै कसैले त्यो सम्बन्धलाई विगार्न खोजे पनि सम्भव छैन्, फेरि त्यो सप्रिने ठाउँमा आइपुग्छ। स्पष्ट, मैत्रीपूर्ण र विश्वासका साथ आफ्ना हितलाई न्यायोचित राख्यो भने सम्बन्ध सुदृढ हुँदै जान्छ।’








