काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखका साथै विकास साझेदारलाई बालुवाटारमा बोलाएर आफ्नो सरकारका ६ प्राथमिकता सुनाएका छन् ।
ओलीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालका साथै अर्थमन्त्री युवराज खतिवडालाई साथमा राखेर सम्बोधन गरेका थिए । सम्बृद्ध नेपाल र खुसी नेपाली सरकारको लक्ष्य रहेको भन्दै उनले आफ्नो सरकारका ६ प्राथमिकता बताए ।
पहिलोः सार्वभौमसत्ता
प्रधानमनत्री ओलीले सरकारको पहिलो प्राथमिकता सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय हितहरुको संरक्षण भएको बताए ।
नेपाल कुनै पनि बाहृय देशको उपनिवेश नरहेको र सार्बभौमसत्ताको आफ्नो इतिहास रहेको भन्दै उनले भने, यो सरकार राष्ट्रिय हितहरुको संरक्षण गर्न प्रतिवद्ध छ । यसमा कुनै सम्झौता हुँदैन ।’
दोस्रोः लोकतन्त्रप्रति प्रतिवद्ध
कूटनीतिज्ञहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिवद्ध रहेको बताए ।
लोकतन्त्रका लागि आफूहरुले लामो राजनीतिक संघर्ष गरेको भन्दै उनले भने, ‘लोकतन्त्र अपरिहार्य छ र यसलाई कसैले खोस्न सक्दैन ।’
तेस्रोः सामाजिक न्याय र समानता
प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानताविना दिगो विकासको कल्पना गर्न नसकिने बताए । समाजका हरेक तहतप्काका मानिसहरुलाई समान संरचना र उनीहरुको क्षमता अनुसार अवसर दिइने भन्दै उनले भने, ‘हाम्रो समाज विविधतायुक्त छ र यो नै नेपाली समाजको विशेषता हो ।’
संविधानले कसैमाथि पनि विभेद नगरेको र राज्यले आफ्ना नागरिकको मौलिक अधिकार संरक्षण गर्ने बताए ।
चौथोः स्थिरता
स्थिरता र विकास सरकारको प्राथमिकतामा रहेको भन्दै उनले त्यसलाई खलल पुर्याउने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए । प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो समाजमा हिंसाका लागि कुनै स्थान छैन ।’
विभिन्न बहानामा सामाजिक सद्भाव र एकता खलबल्याउने प्रयास भइरहेको भन्दै उनले भने, यस्ता तत्वहरु पनि छन्, जसले नेपालमा द्वन्द्व र कलह भइरहोस् भन्न चाहन्छन् ।’ युरोपेली युनियनतर्फ संकेत गर्दै उनले सार्वभौमसत्ता जनता निहीत रहेको र उनीहरुले मात्र आफ्ना संवैधानिक र राजनीतिक मुद्दामा निर्णय गर्न सक्छन् ।’
पाँचौंः सुशासन
सरकार सुशासनप्रति प्रतिवद्ध रहेको र सरकारको नीति तथा कार्यक्रमलाई यसले नै निर्देशित गर्ने उनले बताए । प्रधानन्त्री ओलीले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीति लिने पनि बताएका छन् ।
छैटौंः जनताको आकांक्षा सम्बोधन
लामो राजनीतिक संक्रमणकाल अन्त्य भएको भन्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको एक मात्र ध्येय जनताको इच्छा आकांक्षा पूरा गर्दै समावेशी र दिगो विकास हासिल गर्नु भएको बताएका छन् । उनले भने, ‘हाम्रो राजनीतिक परिर्वतनलाई टिकाई राख्न द्रुत आर्थिक विकास गर्ने चाहना छ ।’








