भक्तपुर, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले १९ वा २० गते एमाले र माओवादीबीच पार्टी एकता गर्ने तयारी भइरहेको बताएका छन् । आज भक्तपुरमा विद्यार्थी भातृ संगठन अखिल (क्रान्तिकारी)को केन्द्रिय सतितिले आयोजना गरेको गोप्य प्रशिक्षण कार्यक्रममा पार्टी एकताको मितिबारे खुलासा गरेका हुन् ।
उनले भने,‘पार्टी एकताको मिति कम्युनिस्ट पार्टीको स्थापनाको दिन ९ बैशाख (लेनिन जयन्ती २२ अप्रिल)लाई तोकिएको थियो । तर, अहिले पार्टी एकता चैतको १९ वा २० गते गर्ने गरी तयारी भइरहेको छ, तपाईहरु पनि त्यही अनुसार तयारीमा जुट्नुहोला ।’ एकीकृत पार्टीको अन्तरिम विधान र सांगठानिक संरचनाबारे खाका तयार भइसकेको बताएका श्रेष्ठले आगामी तीन दिन भित्रमा पूर्णता दिनेगरी आजैबाट गम्भिर छलफलमा जुट्ने बताए ।
उनले भने,‘संविधान कार्यान्वयन र त्यसको विकास, शान्ति र सरकार, वैज्ञानिक समाजवाद निर्माण गर्ने विषयमा सहमति भइसकेको छ ।’ पार्टी एकता सम्मानजनक रुपमा हुने बताए श्रेष्ठले सत्तामा पुग्न र पद लोलुप भएर मात्रै एकता हुन लागेको नठान्न विद्यार्थीहरुसँग आग्रह गरे । उनले समाजवाद निर्माणकै लागि पार्टी एकता गर्न लागिएकाे जिकिर गरे । उनले विद्यार्थीहरुलाई सोही अनुसार तयारी गर्न पनि निर्देशन दिएका छन् ।
श्रेष्ठले सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरे हस्तक्षेप गर्न पनि निर्देशन गरे । उनले नेपालको संविधान शासकिय स्वरुपमा संसदीय व्यवस्था अनुरुपको भएको पनि राजनीतिक र सामाजिक रुपमा संविधान संसदीय प्रकारको नभएको जिकिर गरे । नेता श्रेष्ठले नेपालका वामपन्थी दलहरुले सामन्ती व्यवस्था फालेकाले मुलुक अब समाजवादी दिशामा अघि बढ्ने बताए ।
अहिलेको गणतन्त्र मुलभूत रुपमा पुजीवादी चरित्रकै भए पनि वामपन्थीको वर्तमान सरकारले समाजवादी दिशामा लैजाने बताए । उनले कांग्रेस निरंकुश र स्वेच्छाचारी पार्टी भएको भन्दै रोश प्रकट गरे । उनले कांग्रेसप्रति कटाक्ष गर्दै भने,‘भारतमा विजेपीले चुनाव जितेपछि कस्तो ग¥यो ? लेनिनको शालिक ढाल्यो । नेपालको कांग्रेस पनि विजेपी भन्दा कम छैन । निकै निरंकुश र स्वेच्छाचारी छ ।’
उनले विद्यार्थी संगठन पार्टीको साखा नभइ विद्यार्थीको पीडा मर्म बुझ्ने संगठन बनाउन पनि निर्देशन दिए । श्रेष्ठले विद्यार्थीहरुलाई समाजवाद उन्मुख शिक्षा प्रणालीको विकासमा जुट्न र संठनमा आन्तरिक कमिकमजेरी भए त्यसलाई मिलाएर अघि वढ्न विद्यार्थी संगठनका नेताहरुलाई निर्देशन दिए ।
वैचारिक राजनीति कार्यदिशा
प्रशिक्षण कार्यक्रममा नेता श्रेष्ठले वैचारिक आधारमा माक्र्सवाद र लेनिनवाद दुवै पार्टीले स्विकारिसकेको बताए । उनले माओवाद, जनताको बहुदलीय जनवाद र २१औँ शताव्दीको जनवादमा मिलेका साझा विषयलाई ग्रहण गरी परिमार्जन र विकाससहित बहस र छलफलमा लैजाने विषयमा पनि सहमति भएको बताए । त्यस्तै नेता श्रेष्ठले माओवादलाई वहस र छलफलमा लैजाने सहमति भएकाले माओत्सेतुङलाई अन्तर्राष्ट्रि कम्युनिस्ट नेता मान्ने विषयमा सहमति कायम भइसकेको पनि जानकारी दिए ।
नेता श्रेष्ठले पार्टी एकता कम्युनिस्ट पार्टीकै आधारभूत सिद्धान्तलाई कार्यदिशाको रुपमा मान्ने र सम्मानजनक नीतिका आधारमा केन्द्रिय समिति बनाउने निर्णय भइसकेको पनि बताए । कार्यक्रममा उनले संख्याबारे खुलाएनन् । बरु ६०/४० कै आधारमा पार्टी एकता हुन लागेको भन्ने हल्ला मात्रै भएको बताए । उनले एकीकृत पार्टीमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुवै जना अध्यक्षको हैसियतमा रहने र बैठकको अध्यक्षता आलोपालो गर्ने विषयमा सहमति भइसकेको बताए ।
समानताको नीतिका आधारमा सम्मानजनकरुपमा पार्टी एकता हुन्छ भनेर जिकिर गरेका नेता श्रेष्ठले भने,‘गोरखामा पार्टीको कमिटि बनाउन समानताको अधारमा नहुन सक्छ । इलाममा पनि नहुन सक्छ तर, केन्द्रिय कमिटि बनाउँदा सम्मानजनक र समानताकै आधारमा हुन्छ ।’
सोही आधारमा रहेर डकुमेन्ट तयार भइसकेको र दुईतीन पटक छलफल भइसकेको भन्दै उनले अघि भने,‘पार्टी एकतापछि जनवर्गिय संगठनहरुको एकता हुन्छ । जुन-जनु संगठनको एकता हुन्छ पुरानो संगठन समाप्त हुँदै जान्छ ।’ युरोपियन युनियनले नेपालको आन्तरिक मामिलामा नांगोरुपमा प्रस्तुत भइ हस्तक्षेप गर्न खोजेको बताएका नेता श्रेष्ठले स्वाभिमानी नेपालीका लागि हस्तक्षेप पाच्य नभएको चेतावनी दिए








