गत ३ फागुनमा प्रधानमन्त्रीमा निर्वाचित भएका केपी शर्मा अाेलीले अाज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । एमाले र माअाेवादी केन्द्रबाट मन्त्री बनाएर प्रधानमन्त्री अाेलीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
यसक्रममा संघीय समाजवादी फाेरमलार्इ पनि सहभागी गराउने प्रयास भएकाे छ । प्रधानमन्त्री अाेली, माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फाेरमका अध्यक्ष उपेन्द्र यादवबीच अाज छलफल भएकाे छ ।
छलफलमा प्रधानमन्त्री र माअाेवादी अध्यक्षले संविधान संशाेधनकाे प्रतिबद्धता जनाएकाे बुझिएकाे छ । त्यसपछि यादव पार्टीमा छलफल गर्न भन्दै गएका छन् । उनलार्इ परराष्ट्र मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी भइरहेकाे बालुवाटारस्राेतले जानकारी दियाे ।
यादवले सरकारमा सहभागी हुन नमाने पनि अाजै एमाले र माअाेवादीबाट मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहेका छन् ।
माअाेवादीबाट मन्त्री हुनेहरूकाे नाम प्रचण्डले प्रधानमन्त्रीलार्इ उपलब्ध गराइसकेकाे बताइएकाे छ । माओवादी केन्द्र रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा सहभागी हुने पक्का भएको छ।
बादल गृहमन्त्रालयको जिम्मेवारीसहित सरकारमा जानेछन् । यस्तै विना मगर पनि मन्त्री बन्ने स्राेतकाे दावी छ । स्रोतका अनुसार जनार्दन शर्मा, वर्षमान पुन, मातृका यादव र गिरिराजमणि पोखरेल पनि मन्त्री बन्ने छन् ।
ओली नेतृत्वको सरकारमा १८ मन्त्रालय राख्ने र त्यसमा एमालेले प्रधानमन्त्रीसहित ११ र माओवादी केन्द्रले ७ मन्त्रालय लिने गरी भागबन्डा भएको छ।








