काठमाडौँ, नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मंगलबार देशभरका ७ सय ५३ पालिकामा जनप्रदर्शन हुँदैछ । प्रतिगामी षडयन्त्रविरुद्ध एमालेले देशैभर जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रदर्शनका कार्यक्रम गर्न लागेको हो ।
यसअघि कात्तिक २२ गते देशका ६ हजार ७ सय ४३ वटै वडामा वडा भेला भइसकेका छन् । भेलामा भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, संसदको गैरसंवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको एमालेले जनाएको छ । आज मंगलबारको कार्यक्रममा कतिपय पालिकाले मोटरसाइकल र्यालीमार्फत एमालेको शक्ति प्रदर्शन गर्दैछन् भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुससहितका कार्यक्रम राखिएको छ ।
कार्यक्रममा जनतालाई जगाउने नाराहरु पार्टी केन्द्रले तय गरेको छ । आजको जनप्रदर्शन कात्तिक २९ गते जिल्लास्तरीय आमसभा, मंसिर ६ गते काठमाडौँमा हुने जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचारको रुपमा पनि रहने एमालेले जनाएको छ ।








