काठमाण्डौ, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी पार्टीबिच एकता घोषणा भएको छ ।
आज काठमाण्डौको भृकटीमण्डपमा आयोजित एकता सम्मेलनले नवगठित पार्टीको नामसहित विवरण पारित गरेको हो । नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चुनिएका छन् ।
सम्मेलनले पारित गरेको ९ बुँदे प्रस्तावमा पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी चुनाव चिह्न ‘पाँचकुने तारा’ पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहेको छ । एकतामा आएका सबै दलका सदस्य नेपाली कम्युनिस्ट पार्टीका सदस्य कायम हुनेछन् ।
एकता सम्मेलनमा नेता देव गुरुङले २३ बुँदे प्रतिबद्धता प्रस्तुत गरे । जसमा सङ्घीयता बलियो बनाउन प्रदेशका प्रतिनिधिहरूको सङ्ख्या घटाउने, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता संरक्षण गर्ने, नागरिकप्रति निष्ठावान् रहेने, मार्क्सवाद र लेनिनवाद सिद्धान्त नेपालमा सिर्जनात्मक ढङ्गले लागू गर्ने, वैज्ञानिक समाजवाद स्थापनाको लक्ष्यमा अघि बढ्ने, लोकतान्त्रिक गणतन्त्तमा प्रतिबद्ध र गणतन्त्रको सुदृढीकरण र राज्यका अङ्ग रूपान्तरण उल्लेख छ ।
यस्तै सुशासनका लागि निरन्तर प्रयत्न रहने, उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी दोषीलाई कारबाही गर्ने, राज्यको सेवा प्रवाह छिटो छरितो, आधारभूत सेवामा नागरिकलाई जोड्ने, सबै खालेका शोषण दमन अन्त्य गर्न सङ्घर्षरत रहने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ । एकीकृत पार्टीबीच आउँदो ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ ।








