काठमाडौं, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले देशभरि नै आन्दोलन चर्काउने भएको छ ।
आज प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले मंसिर महिनाभित्रै सबै पालिकामा खबरदारी सभा गर्ने निर्णय गरेको सचिव दिनानाथ शर्माले बताएका छन् । यसअघि माओवादीले काठमाडौंमा खबरदारी सभा गरिसकेकाले अब मंसिरभित्र सबै पालिका स्तरमा पनि खबरदारी सभा गर्ने निर्णय गरेको छ ।
मंसिरमा नभ्याएका पालिकाले पुस २ देखि बस्ने केन्द्रीय कमिटी बैठकपछि सभा गर्ने बताएको छ । प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस र एमाले मिलेपछि सत्ताबाट बाहिरीएको माओवादी ओली सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै आइरहेको छ । यतीबेला उता प्रतिनिधि सभाको चौथो ठूलो पार्टी रास्वपा पनि अहिले सडकमै छ ।
सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै देशव्यापी आन्दोलनमा छ । यस्तै, पाँचौँ ठूलो दल राप्रपाले पनि अब सरकारविरुद्ध काठमाडौं केन्द्रित प्रदर्शन गर्दै छ । सरकारले भ्रष्टाचारी र बिचौलियालाई जोगाउन र विपक्षीलाई निशाना बनाउँदै हिँडेको माओवादीको निष्कर्षसहित खबरदारी सभा देशव्यापी विस्तार गर्ने योजना बनाएको छ ।