नेपाली कांग्रेसका नेता शंकर भण्डारी र पूर्वप्रहरी संगठन प्रमुख मञ्चका सदस्यहरूले सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
उनीहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङलाई कारबाहीको माग गरेका छन् ।
मन्त्री गुरुङले गत शनिबार पोखरामा आयोजित सार्वजनिक कार्यक्रममा प्रहरी महानिरीक्षकको ‘जिभ्रो थुत्नुपर्ने’ भन्ने अभिव्यक्ति दिएका थिए । यस अभिव्यक्तिको विरोधमा पृथ्वीसुब्बाको आलोचना भइरहेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य र प्रतिनिधि सभा सांसद शंकर भण्डारीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीसँग मन्त्री गुरुङलाई बर्खास्त गर्न आग्रह गरेका हुन् ।
उनले भविष्यमा शान्ति सुरक्षामा कुनै समस्या उत्पन्न भएमा त्यसको जिम्मेवार सरकार र प्रधानमन्त्री हुने चेतावनी पनि दिएका छन् । साथै, उनले समाजमा वितृष्णा फैलाउने र पार्टीबीच सम्बन्ध बिगार्ने गतिविधिहरू नगर्न अनुरोध गरेका छन् ।
पूर्वप्रहरी संगठन प्रमुख मञ्चले पनि आज संयुक्त विज्ञप्ति जारी गर्दै पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेको छ ।
साथै, मञ्चले मन्त्री गुरुङलाई उक्त अभिव्यक्ति तुरुन्त फिर्ता लिएर प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न पनि आग्रह गरेको छ ।