कांग्रेस नेता र परराष्ट्रमन्त्री आरजू राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको महिला प्रधानमन्त्रीको अभिव्यक्ति एमालेको आन्तरिक राजनीति सम्वन्धी भएको बताएकी छन् । धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त अभिव्यक्ति आफूलाई केन्द्रित नगरेको स्पष्ट पारिन् । प्रधानमन्त्री ओलीले हालै एक यूथ कन्क्लेभमा महिला प्रधानमन्त्री बन्ने बारेमा आफ्नो इच्छा प्रकट गरेका थिए । उनले महिला प्रधानमन्त्री बनाउन चाहेको तर यसका लागि थोरै तयारी गर्नुपर्ने बताएका थिए । दुई महिना, तीन महिना, अर्को वर्ष महिला प्रधानमन्त्री बनाइहाल्ने कुरा गाह्रो हुने तर छिट्टै तयारीका बारेमा सोचि रहेको स्पष्ट पारे । पत्रकारको प्रश्नमा देउवाले आफ्नो पार्टी अनुशासनमा चल्ने पार्टी भएको र प्रधानमन्त्री बन्नका लागि पहिले संसदीय दलको नेता बन्नु आवश्यक रहेको बताइन् । हाम्रो पार्टीको आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनेछ । उनले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्मै कायम रहने बताइन् । उनले दुई वर्ष ओली प्रधानमन्त्री रहने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने सहमति भएको जानकारी दिइन् । देउवाले राजनीतिक अस्थिरताको कारण मुलुक संकटमा परिरहेको र स्थिरताको लागि दुई ठूला दलको मिलन आवश्यक रहेको बताइन् । मन्त्री देउवाले भारत भ्रमणको क्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न विषयहरू उठाएको समेत बताइन् । विशेष गरी गौरिफन्टा नाकाको स्तरोन्नति, फाप्ला रङ्गशाला, ठूला पुल र झोलुंगे पुलको निर्माणका विषयमा भारतसँग कुरा भएको उल्लेख गरिन् ।
यसका अतिरिक्त, उनले नेपाली पक्षबाटै सहयोगमा ढिलाइ भइरहेको र इजरायलबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशीको खोजी र रिहाइको लागि सरकार प्रतिबद्ध रहेको बताइन् । यस्तै देउवाले गेटा मेडिकल कलेजको लागि पर्याप्त बजेट विनियोजन गरिएको समेत जानकारी दिइन् । गौरा मनाउन धनगढी पुगेकी देउवा आज काठमाडौं फर्किएकी छन् ।