राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहानको बैठकले ढकाललाई पार्टीबाट हटाउने निर्णय गरेको हो ।
पार्टीले ढकाललाई साधारण सदस्यबाट किन नहटाउने भन्ने विषयमा दुईपटक स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने आदेश दिइएको थियो, तर उनले दिएको जवाफमा सभापति रवि लामिछानेको नैतिकता माथि प्रश्न उठाएका थिए । ढकालले लामिछानेलाई ‘ठग’ भएको र उनको नैतिक धरातल कमजोर भएको प्रमाणित गर्न सक्ने पत्र रास्वपालाई पठाएका थिए । यसबाहेक, ढकालको जवाफलाई नेताहरुले स्पष्टीकरणको सट्टा कुण्ठा व्यक्त गरेको भनेका छन् ।
२५ असारमा बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यका पदबाट हटाएको थियो । ३५ दिनको पुनरावलोकन अवधि दिइएपनि ढकालले कुनै दस्तावेज बुझाएका थिएनन् । ढकालले कारबाहीको वैधानिकता अस्वीकार गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले रास्वपा केन्द्रीय समिति अद्यावधिक नगर्नको लागि आयोगसँग आग्रह गरेका छन् । आयोगले हालसम्म यस विषयमा कुनै निर्णय लिएको छैन ।