काठमाण्डौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार भइरहेका हवाई दुर्घटनाहरूले नेपालको आकाशको सुरक्षा बारे चिन्ता व्यक्त गरेका छन् । उनले नेपालको आकाश सुरक्षित नभएको बताएका छन् ।
आज सिंहदरबारमा सम्पन्न मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले हवाई दुर्घटनाका कारणहरूको अनुसन्धान गरेर तिनीहरूको समाधान गर्न सरकारले योजनाबद्ध रूपमा कार्य गर्ने जानकारी दिए ।
उनले निरन्तर हवाई दुर्घटनाहरूले पर्यटन क्षेत्रमा नकारात्मक असर परेको बताउँदै, यसले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको छविमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका छन् । उनले मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लामा भएको हेलिकप्टर दुर्घटनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको उल्लेख गरे ।
शिवपुरी गाउँपालिकाको सूर्यचौरमा एयर डाइनेष्टि हेली सर्भिस प्रालिको (एन–एजेडी कल साइन रहेको हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनाको जाँच गर्दै, ३० दिन भित्र सिफारिस सहितको प्रतिवेदन तयार गर्नका लागि नेपाली सेनाका वरिष्ठ पाइलट सुवाष थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरिएको मन्त्री गुरुङले बताए ।
उनले पटकपटक हवाई दुर्घटना हुनुमा हाम्रो आकाश सुरक्षित नभएको सङ्केत रहेको बताए ।
हेलिकप्टर दुर्घटनामा परेका नेपाली र चिनियाँ नागरिकप्रति मन्त्री गुरुङले समवेदना प्रकट गर्दै, अहिलेसम्म दुर्घटना अनुसन्धान र जाँचबुझ समिति बनाउनेमा सरकारले सीमित मात्र काम गरेको र अब सरकारले कारण पहिचान गरेर समाधान निकाल्ने विषयमा छलफल गरिरहेको बताएका छन् । उनले सरकारको नीति, व्यवस्थापन, प्रविधि, र आकाशमा के समस्या छ, त्यसको अध्ययन गरेर समाधानका लागि कार्य गरिने प्रतिकृया दिए ।