काठमाडौं, नेपाली कांग्रेसको महासमिति बैठक दोस्रोपटक सरेको छ । मंगलबार सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक १६ देखि १९ पुससम्म हुने जानकारी दिएका हुन् ।
कांग्रेसले सुरुमा १३ देखि १५ पुससम्म महासमिति बैठक बस्ने निर्णय गरेको थियो । तर, उक्त मिति सार्दै आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमितिको बैठक २९ मंसिरदेखि २ पुससम्म गर्ने निर्णय गरेको थियो ।
मंगलबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रचार विभाग प्रमुख विश्वकर्माले पुस १६ गते उद्घाटन गर्ने गरी महासमिति बैठकको नयाँ मिति तोकिएको जानकारी दिए । कांग्रेसले नीति अधिवेशनको समेत काम गर्ने गरी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्न लागेको उनको भनाई छ ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा गत आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले मंशिर २९, ३० र पुस १ र २ गते महासमिति बैठक गर्ने निर्णय गरेको थियो । त्यसअघि मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिबाट निर्णय भएको थियो ।
कांग्रेसले ०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको थियो । त्यो महाधिवेशनमा नीतिबारे छलफल नभई नेतृत्व मात्रै चयन गर्दै सकिएको थियो । उनका अनुसार महासमिति बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ ।