प्रतिनिधिसभा निर्वाचनमा सबैको ध्यान केन्द्रीत भएको क्षेत्र काठमाडौं १ पनि एक हो । कांग्रेस नेता प्रकाशमान सिंहले लगातार चौथो पटक जित निकाल्दै आफूलाई सहजै कसैले हल्लाउन नसक्ने प्रमाणित गरेका छन् ।
सिंहको जितमा सिंहको योगदान र क्षमता भन्दा पनि उनका प्रतिष्पर्धीको उत्ताउलोपनि बढी जिम्मेवार देखिन्छ । सिंहले जित निकालेपनि उनको मत संख्या भने घटेको छ ।
यसअघि २०७४को चुनावमा सिंह १० हजार ९३७ मतका साथ विजयी भएका थिए । तत्कालीन विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र १० हजार ११८ मतका साथ दोस्रो स्थानमा आएका थिए ।
अहिले सिंहले ७ हजार १४३ मत ल्याएका छन । उनका निकटम प्रतिद्वन्द्वी राप्रपाका अध्यक्ष रवीन्द्र मिश्रले ७ हजार १८ मत पाए । मिश्रको भोट अन्य स्वतन्त्र उम्मेदवारमा बाँडिएको छ भने सिंहको घटेको देखिन्छ ।
तर, यसको प्रत्यक्ष फाइदा सिंहलाई भएको छ । परिवर्तनको नारा बोकेका रमेश खरेल, पुकार बम, बालकृष्ण न्यौपाने लगायतको उम्मेदवारी सिंहका लागि फाइदाजनक रह्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् । परिवर्तनको नारा दिएका उम्मेदवारहरू एक ठाउँ नहुँदाको फाइदा सिंहलाई भएको हो ।
परिवर्तनको नारा दिँदै सिंहलाई कुनैपनि हालतमा हराउने प्रतिबद्धतासहित मैदानमा ओर्लिएका मिश्र, रमेश, पुकार र न्यौपानेबीच सहकार्य नहुनु नै सबैभन्दा ठूलो विडम्बना रह्यो ।
सिंहका प्रतिष्पर्धी उम्मेदवारको उत्ताउलो र भड्किलो अभिव्यक्ति तथा सिंहमाथिको आक्रमण पनि जनताले रुचाएको देखिएन । कांग्रेसका सिंह भने शालिन ढंगले आक्रामक भाषण नगरी मैदानमा ओर्लिएका थिए । उनको परिपक्वता, गाम्भीर्यता र मौनता नै जितको आधार बनेको हो ।
२०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहका छोरा प्रकाशमानलाई पारिवारिक वातावरणले नै नेपाली कांग्रेसको राजनीतिमा ल्याएको थियो । २०१२ सालमा जन्मेका उनी नेविसंघबाट राजनीतिमा उदाएका थिए । २०३४ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका उनी त्यसको दुई वर्षपछि अध्यक्षमा चुनिएका थिए ।
सिंह २०४६ सालमा पंचायत ढलेपछि २०४७ देखि निरन्तर १० वर्षसम्म कांग्रेसको काठमाडौं जिल्ला सभापति रहेका थिए । उनी पार्टी फुटका बेला शेरबहादुर देउबाको साथ रहेर नेपाली कांग्रेस ९प्रजातान्त्रिक०को उप–सभापति पनि बने । २०६४ मा पार्टी एकीकरणपछि २०६७ को १२औं महाधिवेशनबाट उनी महामन्त्री निर्वाचित भए ।
१४औं महाधिवेशनसम्म आइपुग्दा देउवाबाट निकै टाढा पुगिसकेका सिंहले सभापतिमा प्रतिस्पर्धा गरे । तर, दोस्रो चरणमा पुग्न नसकेपछि देउवालाई सभापति बन्न साथ दिएका उनले एकै निर्वाचन क्षेत्राट पटक–पटक उठ्ने र जित्ने सौभाग्य पनि प्राप्त गरेका छन् ।
२०४८ मा काठमाडौं–४ मा र २०५१ मा काठमाडौं–३ मा पराजित भएका उनले २०५३ सालमा राष्ट्रिय सभा सदस्य भएर ६ वर्ष बिताएका थिए ।
२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा सिंह काठमाडौं–१ मा आएर जितेपछि उनले योसहित यहाँबाटै निरन्तर चौथो विजय हात पारेका हुन् । उनले जित लगत्तै केन्द्रमा प्रभाव र क्षेत्रमा विकासको नारालाई सार्थक बनाउने प्रतिवद्धता जनाएका छन ।








