मंसिर २०,२०७९ / ०१ : ५६ अपरान्ह / 2022-12-06 01:56 pm

        काठमाडौं १ मा प्रकाशमान सिंह विजयी

        - एक हप्ता अगाडि
        मंसिर ६,२०७९

        काठमाडौं, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी भएका छन् ।

        मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २५ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् ।

        सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४ को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी भएका थिए ।

        २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहका छोरा प्रकाशमानलाई पारिवारिक वातावरणले नै नेपाली कांग्रेसको राजनीतिमा ल्याएको थियो । २०१२ सालमा जन्मेका उनी नेविसंघबाट राजनीतिमा उदाएका थिए ।

        कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गर्नुभएका सिंह नेपाली कांग्रेसको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन् । कांग्रेसका शीर्ष नेतामध्येका एक सिंह तत्कालीन सुशील कोइरालाको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री थिए ।

        राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् ।

          सम्बन्धित समाचारहरु